क्वारेन्टीनको सुधार र पिसिआर बढाउन माग गर्दै कांग्रेसद्वारा स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं, १६ असार
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले मंगलबार बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टिनहरु नै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो ।
क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा। महतले जानकारी दिए ।
भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताए । स्वास्थ्यमन्त्री ढकालको भनाइ उद्धृत गर्दै डा. महतले भने, ‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षणको दैनिक १० हजारको गर्ने गरी तयारी भएको बताउनुभएको छ । आगामी अगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडि बढ्ने भन्ने विषयमा तयारी भइरहेको बताउनुभयो ।’