लकडाउन उलंघन गर्दै युवाहरु सरकारविरुद्ध सडकमा, कसले गर्दैछ नेतृत्व, के होला कोभिडको जोखिम ?

मूलखबर संवाददाता
काठमाडौं, ३१ जेठ

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९को रोकथामको लागि सरकारले गत चैत ११ देखि लागु गरेको लकडाउन अझै जारी छ । मानविय संसर्गबाट सर्ने माहामारीबाट बच्न एक अर्काबीच कम्तिमा एक मिटर दुरी कायम गर्नुपर्ने बताइएको छ । अत्यावयक काम बाहेक घर बाट बाहिर ननिस्कन र निस्कनै परेमा सावधानी अपनाउन कडा निर्देशन दिइएको छ । तर यही बीचमा राजधानी काठमाडौं सहित देशका पूमूख शहरहरुमा एकाएक हजारौं युवायुवतिहरु सडकमा निस्केका छन् र नारा जुलुश र प्लेकार्ड सहित आन्दोलनमा जुटेका छन् ।

सरकारका काम कार्वाही र विशेष गरेर कोभिड नियन्त्रणको नाममा सरकारले खर्च गरेको भनिएको १० अरबको विषयमा प्रश्न उठाउँदै उनीहरु सडकमा आन्दोलनरत देखिएका छन् । बुधबार र बिहिबार राजधानी काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटार अगाडि मात्रै प्रदर्शनमा उत्रिएका युवाको आन्दोलन शुक्रबार देशव्यापी भएको छ र शनिवार पनि आन्दोलन गर्ने तयारी रहेको सार्वजनीक गरिएको छ ।

शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने भए पनि त्यस्तो देखिएको छैन । गृह मन्त्रालयले लकडाउन उल्लंघन र संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भएका आन्दोलन तथा प्रदर्शन नियन्त्रणमा लिन बिहीबार निर्देशन दिएको थियो । तर युवाले मुखुन्डो लगाएर र हातहातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्न भ्याए ।

बुधबार र बिहीबार बालुवाटार क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पनि शुक्रबार प्रदर्शन शान्त रहेको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ‘हेल्थ प्रोटोकल’ पालना गरेर ५ जनासम्मलाई भेला हुन दिने व्यवस्था भएको उल्लेख गर्दै त्यसभन्दा बाहेकका प्रदर्शन, भीडभाड र विरोधका कार्यक्रम गैरकानुनी हुने बताए । गृह मन्त्रालयबाट पनि गैरकानुनी र कोरोना संक्रमण फैलाउने गरी कुनै पनि प्रदर्शन हुन नदिन स्पष्ट निर्देशन आएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने र सोहीअनुसार एक्सनमा जान सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विरोध प्रदर्शन गर्नुपूर्व स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेमा लकडाउन नै उल्लंघन गरेर असंगठित जमात आन्दोलनमा उत्रिएकामा आफूहरूले गम्भीर रूपमा लिएको बताए । ‘न लकडाउन पालना भयो, न संक्रमण फैलिन सक्ने जोखिमप्रति नै प्रदर्शनकारीहरू संवेदनशील देखिए । यसबाट आम मानिसको स्वास्थ्यमा खेलबाड हुनुका साथै विधि र कानुनको पनि उल्लंघन भएको छ,’ उनले भने ।

सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।

युवाले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरे । राजधानीमा ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ समूह बनाएर सरकारविरुद्ध मौन प्रदर्शन आह्वान गरिएको थियो । त्यस्तै ‘वेक एन्ड सेभ लाइभ्ज नेपाल’ नामको फेसबुक समूहबाट पनि आन्दोलन आह्वान गरिएको छ ।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट आन्दोलनका लागि आह्वान गरिएको छ । शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ७ र भक्तपुर र ललितपुरमा २र२ स्थानमा प्रदर्शन भए । थानकोट, गुर्जुधारा, कलंकी, माइतीघर, सल्लाघारी, सूर्यविनायक, भूगोलपार्क, वसन्तपुर, पागा दोबाटो (कीर्तिपुर), मूलपानी, झम्सीखेल, पेप्सिकोला र पुलचोकमा प्रदर्शन भएको थियो । प्रदर्शन बढ्दै जाँदा कोभिड–१९ संक्रमण फैलिने जोखिम छ । प्रदर्शन नेतृत्वविहीन र असंगठित भएकाले ‘स्थिति नियन्त्रण’ मा लिन कोसँग समन्वय गर्ने भन्नेमा पनि सुरक्षाकर्मीहरूलाई अन्योल थपिएको छ । -कान्तिपुर