कति सम्भव छ बामदेव प्रधानमन्त्री बन्न ?

मनहरी तिमिल्सिना
काठमाडौं

पार्टीभित्रको समीकरण टुटाउने दाउपेच नभई स्वच्छ हृदयले ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका रहेछन् भने पनि त्यसका २ प्रक्रिया यस्ता हुन सक्छन्ः–

(१) राष्ट्रिय सभामार्फत् प्रधानमन्त्री

(क) कोरोनाको प्रभावसम्म वामदेवले प्रतीक्षा गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्, त्यतिञ्जेल वामदेवको प्रधानमन्त्री बन्ने यात्रा आरम्भ हुने छैन। स्मरणरहोस्, डब्लुएचओले कोरोनाको प्रभाव कम्तिमा २ वर्ष रहने विश्लेषण गरेको हो।

(ख) कोरोनाको प्रभाव समाप्त भएपछि नेकपाको केन्द्रीय सचिवालय बैठक बस्नेछ, उक्त बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव पारित गर्नेछ। स्मरणरहोस्, वामदेवलाई राष्ट्रिय सभामा लैजाने यसअघिको निर्णय प्रधानमन्त्रीले लत्याउँदै डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा लैजाने सोंचसहित अर्थमन्त्रीमा पूनर्नियुक्ति गरिसकेका छन्।

(ग) पार्टीले निर्णय गरेपछि उक्त प्रस्तावलाई मन्त्रीपरिषदको बैठकले पारित गर्नेछ, त्यसपछि राष्ट्रपतिले मनोनीत गरेपछि वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा चयन हुनेछन्।

(घ) वामदेव राष्ट्रिय सभा सदस्यमा मनोनीत भए पनि अहिलेकै संविधानअनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने छैनन्, त्यसका लागि सदनमा संविधान संशोधन प्रस्ताव दर्ता गरिनेछ। उक्त प्रस्तावलाई संसदको दुईतिहाइले पारित गरेपछि उनी प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य हुनेछन्। स्मरणरहोस्, नेकपासँग संसदमा संविधान संशोधन गर्नसक्ने दुईतिहाइ बहुमत छैन।

(ङ) संविधान संशोधनपछि वामदेवले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्नेछन्। प्रतिनिधि सभाका बहुमत सदस्यले गौतमको पक्षमा मतदान गरेपछि उनी प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। स्मरणरहोस्, यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा अढाइ वर्ष लाग्नेछ, त्यतिञ्जेल अहिलेको संसदको कार्यकाल सकिनेछ।

कदमकदाचित वामदेव गौतम यी सबै भर्‍याङ चढेछन् भने पनि उनी प्रधानमन्त्री हुने छैनन्। स्मरणरहोस्, यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा अढाइ वर्ष लाग्नेछ, त्यतिञ्जेल अहिलेको संसदको कार्यकाल सकिनेछ।

(२) निर्वाचनमार्फत् प्रधानमन्त्री

(क) कोरोनाको प्रभावसम्म वामदेवले प्रतीक्षा गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्, त्यतिञ्जेल वामदेवको प्रधानमन्त्री बन्ने यात्रा आरम्भ हुने छैन। स्मरणरहोस्, डब्लुएचओले कोरोनाको प्रभाव कम्तिमा २ वर्ष रहने विश्लेषण गरेको हो।

(ख) कोरोनाको प्रभाव समाप्त भएपछि नेकपाको केन्द्रीय सचिवालय बैठक बस्नेछ, उक्त बैठकले नेकपाबाट प्रत्यक्ष निर्वाचित कुनै एक सांसदलाई राजीनामा दिन लगाउनेछ। त्यसपछि राजनीतिक सहमतिका आधारमा मन्त्रीपरिषदले निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सिफारिस पठाउनेछ।

(ग) निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गर्नेछ। उपनिर्वाचनमा नेकपाले वामदेवलाई उम्मेदवार बनाउनेछ। गौतम जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ। स्मरणरहोस्, ३६ हजार मतान्तर रहेको क्षेत्रमा समेत गौतम अन्तर्घातका कारण हारेका थिए, त्यसमाथि अहिले नेकपाको जनमत ओरालो लागेको छ। तसर्थ निर्वाचन जित्नु गौतमका लागि फलामको च्यूरा चपाएसरह हुनेछ।

(घ) वामदेव प्रतिनिधि सभामा निर्वाचित भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा गर्नेछन्। नेकपाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गौतमलाई अघि सार्नेछ, गौतमले उम्मेदवारी दर्ता गर्नेछन्। प्रतिनिधि सभाका बहुमत सदस्यले गौतमको पक्षमा मतदान गरेपछि उनी प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। स्मरणरहोस्, त्यतिञ्जेल नेकपाको विवाद साम्य भइसक्नेछ, अनि प्रधानमन्त्री ओलीलाई राजनीमा दिनुपर्ने नैतिक परिस्थिति आउने छैन।

(ङ) कदमकदाचित वामदेव गौतम यी सबै भर्‍याङ चढेछन् भने पनि उनी प्रधानमन्त्री हुने छैनन्। स्मरणरहोस्, यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा अढाइ वर्ष लाग्नेछ, त्यतिञ्जेल अहिलेको संसदको कार्यकाल सकिनेछ।