चिनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान

मूलखबर संवाददाता
काठमाडौं, २८ फागुन

संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरेको छ ।

निवर्तमान राजदूत लिलामणी पौडेललाई हठात् फिर्ता बोलाएर पाण्डेलाई सरकारले राजदूत सिफारिस गरेको भन्दै आलोचना भइरहँदा बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ ।
यस अघि ओली नेतृत्वको अघिल्लो सरकारको पालामा पाण्डेलाई चिनका लागि राजदूत सिफरिस गरिएकामा उनको एग्रिमो नआएपछि पौडेलले राजदूतको जिम्मेवारी पाएका थिए ।