नेकपा सचिवालय बैठक : एमसीसीबारे अर्को बैठकमा निर्णय, बाँस्कोटाबारे मौन

मूलखबर संवाददाता
काठमाडौँ, ११ फागुन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा ठोस निर्णय नगरी अर्को बैठकमा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कमिशन मागेको अडियो सार्वजनीक भएका कारण पदबाट राजीनामा गरेका सञ्चारमन्त्री गोकूल बाँस्कोटाबारे पनि बैठक मौन प्राय: रह्यो । बाँस्कोटामाथि लागेको आरोप विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायले अध्ययन गरिरहेको हुनाले यसबारे पार्टीले बोल्नुनपर्ने सहमति बैठकमा भएको बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।

माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो ।

बैठकमा कार्यदलका संयोजक खनालले एमसीसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । बैठकमा एमसीसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख विषयवस्तुमाथि हरेक कोणबाट छलफल भयो तर कुनै निष्कर्ष निस्केको छैन, अर्को बैठकबाट यसबारे ठोस निष्कर्ष निकालिने बताउनुभयो ।

सचिवालय सदस्य खनाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि हरेक कोणबाट छलफल भयो, आगामी बैठकबाट त्यसको टुङ्गो लगाउने सहमति भएको उहाँले बताउनुभयो ।

कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो । नेकपा केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थयी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो ।