संसद बैठक बस्नु अघि नै उपसभामुख शिवमायाले राजीनामा दिने, मन्त्री बनाउने सम्भावना
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले गरेको निर्णयलाई नमान्ने र राजीनामा नदिने खोक्रो अडान राखीरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आज राजीनामा दिने हुनुभएको छ ।
आफूलाई नै प्रतिनिधिसभाको सभामुख बनाउन दवाव दिँदै पार्टीको निर्णय अबज्ञा गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी हुन् । पुर्व सभामुख कृष्ण बहादुर महराले राजीनानमा गरेपछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा नेकपाले स्थायी समिति सदस्य अग्नी प्रसाद सापकोटालाई पठाउने सर्व सम्मत निर्णय गरेपछि तुम्बाहाङफेले राजीनामा गर्न लागेकी बताइएको छ ।
उपसभामुखले राजीनामा नगरेपछि सभामुख चयन अन्यौलमा : प्रतिनिधिसभा बैठक स्थगित
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको श्रोतको भनाई छ । ओली र अर्का अध्यक्ष प्रचण्डबीच उनलाई मन्त्री बनाउने विषयमा सहमति भएको पनि श्रोतको दावी छ ।
आज अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने जनाइएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।
सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।
तुम्बाहाङ्फेलाई शहरी विकास र कानून मन्त्रालयमध्ये एक मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको रहेको बुझिएको छ । प्रधानमन्त्रीले अरू मन्त्री पनि हेरफेर गर्ने सम्भावना रहेको पनि बालुवाटार निकट श्रोतले बतायो ।