भन्सारको धनसार खेती : लेखापालको कमाई ५१ लाख, सम्पत्ती १० करोड

मूलखबर संवाददाता
काठमाडौं

तातोपानी भन्सारका निवर्तमान प्रमुख कृष्णबहादुर बस्नेतले ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उक्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो ।

आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेका उनले छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् । ०४५ मंसिर २९ देखि लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ फागुन १६ देखि जागिर खाएको दाबी गरेका थिए । ०५४ असोज ८ गते शाखा अधिकृत र ०६७ वैशाख ३ गतेदेखि उपसचिव भएका उनले त्यस अवधिमा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका थिए । बस्नेतले विराटनगर भन्सारमा काम गर्दा लिएको ‘घूस’ संखुवासभाको खाँदबारीमा बस्ने जेठान नवीनकुमार गौलीको खातामा जम्मा गरेको अख्तियार स्रोतले जनाएको छ । ‘गैरकानुनी आर्जनका उजुरीमा छानबिन गर्दा पैसा अन्यत्र लुकाएकाले शंकास्पद व्यक्तिको खातामा नभेटिने प्रवृत्ति थियो,’ स्रोतले भन्यो, ‘उपसचिव बस्नेतको पनि त्यस्तै भेटिएको छ ।’

आफ्नो आय वैध बनाउन उनले छोरी कृष्टिनाको कमाइ पनि आफ्नै भनी जोडेका थिए । छोरीले रोड सो कन्स्ट्रक्सनबाट ३ लाख ३६ हजार र सीई कन्स्ट्रक्सनबाट ३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक बुझेको खुलेको छ । बस्नेतले सीईका शम्भु फुयालसँग पनि कारोबार गरेको भेटिएको छ । बस्नेतले विराटनगरमा दुईवटा र काठमाडौंमा पनि घर बनाएका थिए । श्रीमती सविता गौलीको नाममा उनले मोरङको विराटनगर नगरपालिकामा बनाएको घर ०६४ माघ २७ गते ५० लाखमा बेचेका थिए । उनले आफ्नी काकी कृष्णकुमारी बस्नेतको नाममा संयुक्त जग्गा किनेका थिए । त्यो जग्गा ०६९ भदौ ५ मा बेचे । जग्गा बेचेर त्यतिबेला उनले ५६ लाख आर्जन गरेका थिए । ५६ लाखमध्ये ६ लाख ४२ हजारको स्रोत खुलेको थिएन ।

आम्दानीको स्रोत देखाउन उपसचिव बस्नेतले विभिन्न ठाउँबाट ऋण लिएको दाबी गरेका थिए । उनले आफू ४७ लाख ५९ हजार रुपैयाँ ऋणमा भएको दाबी गरे पनि छानबिन हुँदा २४ लाख १७ हजार रुपैयाँ मात्रै यथार्थ ऋण भेटियो । अख्तियारको आरोपपत्रअनुसार ‘आफ्नै खातामा पर्याप्त बचत भएको अवस्थामा सापटी लिएको भनी गरिएको दाबी पत्यारिलो थिएन । उनले आफ्नो दाबीलाई प्रमाणबाट पुष्टि गर्न सकेनन् ।’

भन्सारबाट धमाधम घूस लिने गरेका उनले त्यसलाई वैध देखाउन ‘घरभाडाको आम्दानी’ भनी झूटो बयान दिएका थिए । त्यतिमात्रै होइन, उनले पत्नी सविताको नाममा रहेको काठमाडौंको घरबाट ०६६ देखि तीन वर्ष र ०७२ सालदेखि दुई वर्ष भाडा पाएको दाबी गरेका थिए । उनले भाडाबापत ४० लाख ४० हजार रुपैयाँ प्राप्त गरेको दाबी गरे र ५ प्रतिशतले हुने ८० हजार रुपैयाँ महानगरपालिकामा बहाल कर तिरेको बताए । तर त्यसमा पनि छलछाम भएको खुल्यो । अख्तियारले स्थलगत छानबिन गर्न पत्र काटेपछि महानगरीय प्रहरी वृत्त महराजगन्जले स्थलगत सर्जमिन गर्दा छिमेकी कसैले पनि उनको घर भाडामा नलगाएको बताए । पछि बयानका क्रममा उनीसँग भाडामा बस्नेहरूको नामावली र सम्पर्क नम्बर मागियो । उनले खुलाउन सकेनन् ।

उपसचिव बस्नेतले आफ्नो आर्जनलाई विविध क्षेत्रमा लगाउन गरेको व्यवस्थापन अनौठो छ । श्रीमती गौलीको नाममा मोरङ विराटनगरमा दुई कित्ता जग्गा किनेका उनले काकीसँग मिलेर मोरङको केरौनीमा अरू दुई कित्ता जग्गा जोडेको खुलेको छ । आफ्नै नाममा खरिद गर्दा शंका हुने भएकाले जेठानको नाममा जग्गा खरिद गरेर ‘बकसपत्र’ गराउँथे । उनले ०६१ असोज १४ गते जेठान नवीन गौलीको नाममा १२ लाखमा जग्गा किने अनि ०६४ चैतमा जेठानले सविता गौलीको नाममा बकस पास गरिदिए । उनले आफ्नी श्रीमतीलाई उक्त जग्गा ‘जेठानले बकस दिएको’ बताउँथे । खासमा त्यो जग्गा बस्नेत आफैंले किनेर जेठान नवीनको नाममा राखेको खुल्यो । काठमाडौंमा अर्को जग्गासमेत किनेका उनले ०६५ सालमा घर बनाए । घर बनाउदा ६९ लाख ३५ हजार खर्च लाग्यो । विराटनगरमा १३ लाखमा घर बनाए । घरमा मात्रै ८२ लाख ८५ हजार खर्च गरे । गत वर्ष छोरी कृष्टिनाको नाममा गाडी किनेका थिए । जसको मूल्य २० लाख रुपैयाँ देखाइएको छ ।

बस्नेतले भोजपुरको देउराली गाविसस्थित पुर्ख्यौली घरखेतबाट नियमित आम्दानी भइरहेको दाबी गरेका छन् । काकीसँग किनेको जग्गाबाट पनि नियमित आम्दानी भएको देखाएका छन् । दुवैतिरबाट उनले १० लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको पुष्टि गराए । सम्पत्ति अस्वाभाविक भएपछि आय देखाउन गरेको मिहिनेत यत्तिमै सीमित छैन । उनले सुन र भाँडाकुँडा बेचेर ७ लाख ७७ हजार रुपैयाँ कमाएको देखाए । बिहेमा पाएको दाइजोसमेत ०५० असार ३ गते संखुवासभाको राधाकृष्ण भाँडा उद्योगमा बेचेर ५२ हजार ८ सय ३७ रुपैयाँ कमाएको दाबी गरेका छन् । अंशबन्डा, कमिसन, पुरस्कार र बिमाबाट करिब २५ लाख रुपैयाँ आर्जन गरेको देखाएका छन् ।

आफैंले स्विकारेका थिए स्रोत नखुलेको
अर्थमन्त्री रामशरण महतले ०५७र५८ सालको बजेटमा ‘आयको स्वयं घोषणा’ कार्यक्रम ल्याएका थिए । कुनै व्यक्तिले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भए त्यसको घोषणा गरेर कर तिरेमा स्रोत नखोजिने प्रतिबद्धतासहित त्यो कार्यक्रम ल्याइएको थियो । पछि अख्तियारले कर तिरेका आधारमा मात्रै वैधता नपाउने अडान राख्यो । सर्वोच्च अदालतले पनि कर तिरेकै कारण गैरकानुनी आर्जनले वैधता पाउन नसक्ने नजिर स्थापित गर्‍यो । उपसचिव बस्नेतका दम्पतीले त्यही ‘स्किम’ अन्तर्गत २० लाख रुपैयाँ स्रोत नखुलेको रकमलाई शुद्धीकरण गरेको खुलेको छ । बस्नेतले ०५८ पुस २९ गते स्रोत नखुलेको १० लाख रुपैयाँ आर्जनको घोषणा गरी एक लाख रुपैयाँ कर तिरेका थिए । बस्नेतले श्रीमती सवितालाई स्वीट्जरल्यान्ड र छोरी कृष्टिनालाई इजिप्टको कायरो घुम्न पठाएका थिए । ०५७ सालमै दुई जनाको घुमघामको खर्च झन्डै ५ लाख पुगेको थियो ।

बस्नेतले छोराछोरीलाई राजधानीका महँगा विद्यालयमा पढाएपछि उच्च शिक्षाका लागि विदेश पठाएका थिए । अख्तियारले उनीहरूको शिक्षादीक्षामा ८६ लाख ८४ हजार रुपैयाँ खर्च भएको प्रमाण जुटाएको छ, जसको आधाजति स्रोत खुल्दैन । खातापाता छानबिन हुँदा १५ लाख रुपैयाँको ‘बैंक ब्यालेन्स’ भेटिएको थियो । सबै जोडेर एक करोड ७८ लाख आर्जन गर्दा ३ करोड १३ लाख सम्पत्ति भेटिएको भन्दै अख्तियारले एक करोड ३५ लाखको आर्जनलाई अवैध दाबी गरेको छ ।

अख्तियारको दाबीअनुसार ०७१ चैत ४ देखि ०७४ भदौ मसान्तसम्म विराटनगर भन्सार प्रमुख हुँदा गौलीको खातामा अस्वाभाविक रकम गएको थियो । खातामा रकम राखिदिनेमध्ये केहीले भन्सार प्रमुख बस्नेतको निर्देशनअनुसार ‘डिपोजिट गरिदिएको’ बताएका थिए । ‘हामीले भन्सारबाट सामान क्लियरिङ गर्दा प्रतिगाडीको हिसाबले रकम दिने प्रचलन थियो,’ कान्तिपुर क्यारिङका कर्मचारी भूषण थापाले बयानमा भनेका थिए, ‘मैले भन्सार प्रमुख बस्नेतलाई उनले भनेको बैंक खातामा रकम जम्मा गरिदिएको हुँ । जेठान भन्ने थाहा थिएन, पछि मात्रै जानकारी पाएको हुँ ।’ कान्तिपुरबाट