गुठी संस्थानले गर्यो सरकारसँग यस्तो गुनासो, १५ अर्बभन्दा बढि बहाल पाइएन : संस्थान

मूलखबर संवाददाता
काठमाडौं, १७ कात्तिक

सरकार आफैंले गुठी संस्थानको भोगचलन गरेका जग्गाको अर्वौं रकम नतिरेको खुलासा भएको छ । गुठी संस्थानले आफ्नो ५६ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आईतबार काठमाडौंमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारले आफ्नो कार्यालय र अन्य संघ, संस्थाका लागि जनकपुरमा मात्रै गुठीको जग्गा १७० बिगाहा भन्दा बढि उपयोग गरेपनि त्यसको मात्रै १५ अर्बभन्दा बढि बहाल नदिएको उल्लेख गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थानका प्रशासक नारायण चौंधरीले सरकार र अन्य संघ, संस्थाहरुसँग गुठीको जग्गाको करिव १६ अर्व ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकि रहेको उल्लेख गर्दै सो असुलीका लागि सरकारसँग पत्राचार गर्ने निर्णय गरिएको पनि बताउनु भयो । प्रतिवेदनमा सरकारसँग अर्वाै रकम असुली हुन नसक्दा गुठी संस्थान संचालनमा समेत खर्च अभाव हुने अवस्था आएको पनि उल्लेख गरिएको छ ।

गुठी संस्थानले आर्थिक वर्ष २०७६÷०७७ को आय ६७ करोड ५७ लाख १४ हजार ८ सय र ५८ करोड ८२ लाख ५५ हजार ९ सय व्ययको पनि अनुमान गरेको छ । संस्थानका प्रशासक चौंधरीले गुठी संस्थानको आर्थिक पारदर्शिताका लागि भन्दै भेटी संकलनको आधार, मापदण्ड तय गरि लागू गर्ने योजना पनि सो वार्षिक साधारण सभामा प्रस्तुत गर्नु भएको थियो ।