कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

रेलमार्गदेखि उच्चस्तरीय प्राविधिक विश्व विद्यालय निर्माण भ्रमणका प्राथमिकता

मूलखबर संवाददाता
काठमाडौं, २५ असाेज

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा चीनबाट उच्च राजनीतिक भ्रमण होस् भनेर लामो समयदेखि चाहेको स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले चीनका राष्ट्रपति सीको भ्रमणलाई उच्च महìव दिएको बताउनुभयो ।

“यो समय नेपाल भ्रमणका लागि उत्कृष्ट समय हो,” उहाँले थप्नुभयो, “नेपालले जसरी आफ्नो सङ्क्रमणकाल अन्त्य गरेर स्थायित्व र विकासको बाटोमा अगाडि बढेको छ, अहिले नेपालको भ्रमण गर्ने उपयुक्त समय हो भनेर उहाँहरूले भन्नुभएको छ ।”

चीनको उच्च राजनीतिक भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने नेपालको सोच रहेको उहाँ औँल्याउनुहुन्छ । त्यही ढङ्गको आर्थिक साझेदारीमा केन्द्रित हुँदै तयारी अगाडि बढेको मन्त्री ज्ञवालीको भनाइ छ । त्यो बलियो आर्थिक साझेदारीका निम्ति खास गरेर नेपाल र चीनलाई ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को माध्यमबाट अगाडि बढाइएको छ ।

मन्त्री ज्ञवालीले भ्रमणताका हुने उच्चस्तरीय वार्ताका कार्यसूचीका बारेमा भन्नुभयो, “स्वाभाविक रूपमा हाम्रो प्रयत्न प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माणको तहसम्मको एउटा फ्रेमवर्क बनाउने विषयमा हाम्रो कुराकानी हुनेछ, चीनसँग जोड्ने चारवटा उत्तर–दक्षिण राजमार्गहरूको निर्माणलाई एउटा ठोस सम्झौतामा पु¥याउने हाम्रो प्रयत्न हुनेछ ।”

चीनको नेसनल रेलवे अथोरिटीले केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मङ्सिरमा बुझाएको थियो । त्यसपछि नेपाल र चीनका पदाधिकारीबीच सो विषयमा छलफल भएको थियो ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी झन्डै ८० किलोमिटर हुनेछ । आठ वर्षको अवधिमा निर्माण गरिने सो रेलमार्गका लागि तीन खर्ब रुपियाँभन्दा बढी लगानी लाग्ने अनुमान छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरेको थियो । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।
त्यस्तै पुरानालगायत नयाँ नाकाहरू छन् र तिनलाई अन्तर्राष्ट्रिय नाकाहरू ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकलले पहिचान गरेका छन्, तिनीहरूको स्तरोन्नतिका बारेमा पनि सी भ्रमणसँगै हुने वार्तामा कुराकानी हुने बताइएको छ ।

“विश्वस्तरका नयाँ विश्वविद्यालय खोल्ने र त्यसबाट नेपाललाई आवश्यक पर्ने जनशक्ति यहीँबाट तयार हुनेछ,” उहाँले थप प्रस्ट्याउँदै थप्नुभयो, “विशेषगरी विज्ञान र प्रविधिमा केन्द्रित भएर त्यो ढङ्गको विश्वविद्यालयका विषयमा पनि कुराकानी हुनेछ ।” सारमा हामी एउटा बलियो आर्थिक साझेदारीमा सम्बन्धलाई बदल्न चाहन्छाँै भन्नेमै भ्रमण केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।

आर्थिक साझेदारीका क्रममा अर्थ मन्त्रालयसँग जोडिएर योजनाका विविध सम्झौताको ढाँचा तयार पार्ने कार्यसमेत तीव्रताका साथ अगाडि बढिरहेको जनाइएको छ । राष्ट्रपति सीको भ्रमणका लागि नेपालको तयारी अन्तिम चरणमा चलिरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई देशबीच हुने सहमतिपत्र र अन्य कार्यसूचीका विषयमा भने अन्तिम बुँदाहरूको छलफल भइरहेको छ, सुरक्षासम्बन्धी तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ ।” उहाँका अनुसार औपचारिक रूपमा हुने सबै तयारी उच्च गतिमा अगाडि बढिरहेको छ । “यस भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ लिएको छ,” उहाँले प्रस्ट्याउनुभयो, “भ्रमण सफल बनाउनका लागि सबै तह र तप्का अन्तिम तयारीमा जुटेको छ ।”

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले औपचारिक तयारीको काम उच्च गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । सरकारको तयारी पनि उच्च महìवका साथ अघि बढिरहेको छ, नेपालको कार्यसूचीका विषयमा विभिन्न निकायले समन्वय गरी अन्तिम टुङ्गोमा पु¥याउने काम चलिरहेको छ ।

मन्त्रालयको शिष्टाचार महाशाखा, व्यवस्थापन शाखा लगायतका कर्मचारी रातदिन नभनी चीनका राष्ट्रपति सीको भ्रमणको तयारीमा खटिएको पौडेलले जानकारी दिनुभयो । त्यसैगरी उच्चस्तरीय सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयले सुरक्षात्मक विषयमा पूर्वतयारीसमेत पूरा गरिसकेको छ ।

त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति कार्यालय र भेटवार्तास्थलसम्मको उच्च सुरक्षाका लागि गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित तीनै तहको सुरक्षा व्यवस्था चुस्त बनाएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

छान्नुहोस् र सुन्नुहोस्