एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३० रन बनायो ।

नेपालका लागि आशिफ सेखले अर्धशतकीय पारी खेले । ९७ बलमा ५८ रन बनाएर उनी आउट भए ।

यसैगरी सोमपाल कामीले दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन योगदान गरे ।

यसैरी कुशल भुर्तेलले दुई छक्काको मद्दतमा ३८ रन बनाए ।

गुल्शन झाले २३ र दीपेन्द्र सिंह ऐरीले २९ रन बनाए । सन्दीप लामिछानेले् ९, भिम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ र कुशल मल्लले २ रन जोडे । करन केसी २ रनमा नटआउट रहे भने ललित राजवंशीले खाता नै खोल्न सकेनन् ।

पहिलो पटक भारतको सामना गरेको नेपालको सिनियर क्रिकेट टोलीले शानदार ब्याटिङ गरेको छ ।

अब भारतको ब्याटिङ सुरु हुनेछ । यो खेल जित्ने टिम सुपर फोरमा पुग्ने छ ।