उपाधि जित्न मैदानमा उत्रँदै नेपाली टोली, बङ्गलादेशसँग फाइनल प्रतिस्पर्धा
नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो ।
जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।
नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।
बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।