राष्ट्रिय पुँजीको विकासमा लागौं, समाजवादको आधार निर्माण गरौं : प्रचण्ड
काठमाडौँ, १५ मंसिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पूँजीलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
“हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन् ? प्रचण्डले सरकारले त्यस दिशामा गम्भीर बन्नुपर्ने बताउँदै समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गर्नुभयो ।
समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उहाँले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको बताउनुभयो । प्रचण्डले थप्नुभयो “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो । कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु अत्यावश्यक भएको उहाँको धारणा छ ।
अध्यक्ष प्रचण्डले राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।”
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले यी चार आधारस्तम्भ मध्ये एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।”