५२ देशका ६३४ सहभागी हुने पक्का, अन्यको रेस्पोन्स आउँदै, सरकार उत्साहित

मूलखबर संवाददाता
काठमाडौं, १२ बैसाख ।

आगामी साता नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको तयारी अन्तीम चरणमा छ । बहु प्रतिक्षीत र बहुचर्चीत लगानी सम्मेलनमा नेपालले एक हजार नौ सयभन्दा बढीलाई निम्तो पठाएकोमा ५२ देशका ४३ विशिष्ट व्यक्तिदेखि लगानीकर्ता र विज्ञसमेत गरी ६३४ जनाले सहभागी हुने पक्का भएको छ भने अन्यको रेस्पोन्स आउँदै छ । सञ्चार सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकार लगानी सम्मेलनप्रति उत्साहित रहेको बताउनुभयो ।

मन्त्री शर्माका अनुसार आसन्न तेस्रो लगानी सम्मेलनमा ५२ विदेशी मुलुकका ६३४ लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवालाहरूले सहभागिताको सुनिश्चित गरेका छन् । सरकारले सम्मेलनमा सहभागिताका लागि एक हजार नौ सयभन्दा बढी विदेशी सम्बन्धित व्यक्तित्वहरूलाई निम्तो पठाएकोमा मंगलबारसम्म ६३४ जनाले सहभागी हुने जवाफ पठाएका हुन् ।

बोर्डको तथ्यांकअनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउने देखिन्छ । हालसम्म चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । त्यस्तै जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३र१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् । दक्षिण एसिया र अस्ट्रेलियाबाट ९र९, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीनरतीनजना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायतका देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् ।

तर, निम्तो स्वीकार गर्ने क्रम बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसार सहभागिताका लागि जवाफ पठाउनेमध्ये अधिकांश लगानीकर्ता र व्यावसायिक व्यक्ति छन् ।

सरकारले आगामी १६ र १७ वैशाखमा लगानी सम्मेलन गर्दै छ । त्यसमा न्यूनतम एक हजार लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला उपस्थिति गराउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार उपस्थिति हुने पक्का भएको छ । नेपालबाट सहभागी हुने ३८५ समेत जोड्दा एक हजार १९ व्यक्ति सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको छ । यसमा अनलाइनबाट आफैँ नाम दर्ता गरेका थप लगानीकर्ता, उद्योगी, व्यावसायिक व्यक्ति तथा सरोकारवालाहरू थपिनेछन् । हाल अनलाइनबाट नाम टिपाएका आवेदकहरूको छनोट गर्ने काम पनि भइरहेको बोर्डले जनाएको छ ।