प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच आज भेटवार्ता, के के हुँदैछन् सम्झौता ?

मूलखबर संवाददाता
काठमाडौं, १२ बैसाख

नेपाल भ्रमणमा रहेका विश्वको धनी मुलुक मध्ये एक कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

होटल सोल्टीमा बिहान साढे १० बजे द्विपक्षीय भेटवार्तामा विभिन्न सहमतिहरुमा हस्ताक्षर समेत हुने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो। त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गथ्र्यो।

नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन्। शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रूपमा छन्।

दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरू भएका छन्। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौंमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो।

यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन। दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो। सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा ९नागरिक उड्डयन०सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो। त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो।

दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ। नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौँमा सम्पर्क कार्यालय खोलेको थियो। नेपालका उद्यमीहरू कतारमा संग्ठितसमेत भएका छन्। सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण ९कतार फाइनान्सियल अथोरिटी० मा ‘नेपाली विजनेस एसोसिएसन कतार’ नाममा नेपालीहरू सङ्गठित भएर संस्था दर्ता भएको थियो।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए ।