शेरबहादुरको २७ वर्षदेखिको किल्ला भत्काउने खगराज भट्टको घोषणा

146 Hits

डडेल्धुरा । माओवादी केन्द्रका प्रभावशाली नेता तथा डडेल्धुरा क्षेत्र नं. १ का उम्मेदवार खगराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवाले २७ वर्षदेखिको एक छत्र राज गरेको किल्ला भत्काउने उद्घोष गरेका छन् । वामगठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई उम्मेदवार बनाएको  छ ।  

यसअघिका दुई निर्वाचनमा काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका माओवादी केन्द्रका नेता खगराज भट्ट यस पटक भने जित निकाल्न दाउमा छन् । चुनावी प्रचारलाई तीव्र पारेका भट्टले टोल–टोल पुगेर घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा भेटिएका उनले भने– ‘यस पटक मेरो जित सुनिश्चित छ, डडेल्धुराका जनताले विकासप्रेमी नयाँ नेतृत्व खोजेका छन् । डडेल्धुरालाई स्वर्ग बनाउने जिम्मेवारी मेरो काँधमा आउँदैछ ।

जनता यसपालि मेरो पक्षमा उत्साहित बनेका छन् ।’ भट्टले जिल्लाका विभिन्न ठाउँमा विकट बस्ती पुगेर मतदाताबाट भोट मागेका छन् । उनले वामगठबन्धनले सर्वहरा र गरिबको अधिकारका लागि लडेर र अधिकार सुनिश्चत गरेको भन्दै वामगबन्धनलाई भोट दिन आग्रह गरिरहेका छन्  । डडेल्धुरामा काङ्ग्रेस दुई खेमामा विभाजित भएका कारण पनि एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ ।

विभाजित पार्टी पङ्क्तिका कारण स्थानीय तह चुनावमा काङ्ग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत काङ्ग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने कतिपयको विश्लेषण छ ।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले पराजित हुन पुगेका थिए । त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।

स्थानीय तहमा बाम गठबन्धन ८ हजार मतले अगाडि

गठबन्धनका उम्मेदवार भट्टले चार चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने बताएका छन् । यसको आधारको रूपमा स्थानीय तहको मतलाई पनि लिन सकिन्छ । गत स्थानीय तहको निर्वाचनमा  वाम गठबन्धन ८ हजार मतले काङ्ग्रेसभन्दा अगाडि छ । यस आधारमा हेर्दा पनि देउवालाई चुनाव जित्न कठिन पर्ने स्थानीयहरूको विश्लेषण छ ।

देउवाले २७ वर्षमा गर्न नसकेको विकास ५ वर्षमा गर्छु : खगराज भट्ट

वामगठबन्धनका उम्मेदवार भट्टले २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको बताएका छन् । वामगठबन्धनले यस पटक डडेलधुरावासीको सहयोगमा काङ्ग्रेसलाई पराजित गर्ने दाबी गर्दै देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने योजना बनाएको बताएका छन् । उनले भने– काँग्रेसले जिते कोरिया पठाइदिने आश्वासन दिन्छ तर हामी नेपाललाई नै कोरिया बनाउने भिजनका साथ अघि बढिरहेका छौँ । त्यसैले अबको हाम्रो प्राथमिकता भनेको ५ वर्षमा जिल्लाको बेरोजगारी अन्त्य गर्ने र आर्थिक समुन्नतिका लागि थप कार्यक्रम ल्याउने हो । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । तर यस पटक वामगठबन्धन बनेपछि भने उनले कडा चुनौतीको सामना गर्नुपरेको छ । -रातोपाटी  

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी