स्मार्ट लाइसेन्स नेपालीकरण रोकीँदा सेवाग्राही समस्यामा
काठमाडौँ, जेठ २ गते ।
सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् ।

सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो ।
कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको कार्यालका प्रमुख डम्बरबहादुर चन्दले बताउनुभयो । नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेका छन् ।
अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् । उहाँले भन्नुभयो, “कतिपय छैन भन्दा बुझ्नुहुन्छ, कतिपयले भने हामीले गर्न नचाहेको भन्ने सोच्छन् ।”
नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन । गत वर्ष असोजमा यातायात व्यवस्था कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
