प्रहरी निरीक्षक पदमा पदोन्नति भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २२ बैशाख ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गैरव्यवसायिक चरित्र प्रदर्शन गर्ने कसैलाई पनि छुट नदिने चेतावनी दिएका छन् ।

प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रममा खनालले यस्तो चेतावनी दिएका हुन । खनालले भने,‘‘व्यावसायिक चरित्र प्रदर्शन नगरेमा जो कोही पनि सजायको भागिदार हुनसक्छ । त्यसमा कसैलाई छुट दिइँदैन।

खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन समेत दिए । पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा खनालले भने,‘‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’’

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण निर्ममताकासाथ निडर भई स्पष्ट रुपमा अगाडि बढ्न निर्देशन समेत दिए ।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७६ वैशाख २० गतेको निर्णयले ५४ जना पदोन्नति भएका हुन । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका थिए ।