दुई किनाराका साक्षीहरु हाँसेर केही हुन्न

-पुरूषाेत्ततम लम्साल –

अन्ततोगत्वा नयाँ शक्ति भन्ने पार्टी पनि पुरियो। तुरियो। अस्तु।
समृद्दीको एउटा पुतली पोष्टल्याम्पमा ठोक्किएबराबर भो।
एउटा उधारो तमसुक ऋण नतिरी च्यातियो।
अच्छा भो। दुई किनाराका साक्षीहरु हाँसेर केही हुन्न।

परशुरामले कर्णलाई तमाम ज्ञान दिए, आखिरीमा चाहिने बेलामा ज्ञान बर्जित हुने श्रापित पनि बनाइदिए। मलाई यो नियतिको बिच्छीले डंक हान्दा उत्पात नरमाइलो लाग्छ।

स्वर्णलंका बरु यथार्थ हुनसक्ला तर स्वर्णहिरण फगत भ्रम हो। यही हिरणको खोजीले कथानक बदल्छ वा कथामा “ट्विस्ट” ल्याउँछ। वैकल्पिक राजनीतिको त्यो स्वर्णहिरण पनि अन्ततोगत्वा “मायावीको जाल” बन्यो।

हिमाली क्षेत्रको “टूर” गर्नेलाई थाहा हुन्छ फूलहरु जति फुलेका देखिन्छन् नि त्यत्तिकै मात लगाउने हुन्छन्, त्यही मातले लेक लगाउँछ र यात्रा “आइ लभ यू” बनाउँछ। फूल रोप्दै हिंड्नु पाप होइन, वीष छर्दै हिंड्नु मात्र पाप हो।

दुर्योधनले जुन लाज छोपे त्यही नै उसको प्रणान्त गर्ने भेद बन्यो, कास गान्धारीले दुर्योधनको त्यो लाज देखिनन्। कृष्णको लीला नि, दुर्योधनको बल पनि हुने त छलकै शिकार हो।

आफू त हिजो पनि ढुक्क, आज पनि ढुक्क।
इतिहास बनाउन कसै न कसैले पहलकदमी लिनै पर्छ भन्लान्, जोखम उठाउनैपर्छ पनि भन्लान्। तर खुल्लामञ्चमा बिस्कुनसरह लहरै सुकाइएका गौरबाट ल्याइएका पार्थिव शरीरहरु सम्झेर कार्यकारी संयोजकले एक मिनेट मौनधारण चाँहि गरुन्।

तराइको राप र ताप उच्च छ। जित्ने र जितेकाहरुले सधैं खेलौना बनाइरहेको नियति बाँच्न अभिषप्त भूगोल हो तराई। कम्तीमा तराइले अशान्ती बाँच्न नपरे “रेमिट्यान्सको रहर”ले सही तराई हाँसेको हेर्न मन छ।

औंला भाँचेरै कसैलाई ‘देखाइदिन्छु’, ‘पख ! हेर्लास्’ भन्ने हो भने त फेरि पनि उही “आइ लभ यू !”