नेपाली महिलालाई पहिलोपटक विदेशी क्लबमा खेल्न अफर

काठमाडौं , १६ बैसाख –

नेपाली खेलाडीले विदेशी क्लबबाट खेल्ने अवसर कमै पाउँछन् । अझ महिला खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजर त खासै छैन । यो अवस्थामा राष्ट्रिय महिला फुटबल टिमका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतको महिला लिग खेल्ने मौका पाएका छन् ।

नेपाली महिला फुटबल खेलाडीले विदेशी लिग खेल्न लागेको यो पहिलो पटक हो ।ओलम्पिक छनौट, साफ च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएसागै महिला खेलाडी फुर्सदिला बनेका छन् । अब अर्को प्रतियोगिता कहिले हुन्छ भन्ने स्वयं अखिल नेपाल फुटबल संघ एन्फालाई पनि थाहा छैन ।

यो अवस्थामा स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिता सोमबार भारत प्रस्थान गर्दैछन् । दुवैजनाले तमिलनाडुको क्लब सेतुबाट खेल्नेछन् । सावित्रा र अनिताले भारतीय लिग खेल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् । 

सावित्रा र अनिताले अघिल्लो वर्ष माल्दिभ्समा फुटसल लिग खेलेका थिए । तर फुटबल नै खेल्न भनेर नेपालबाट विदेशी क्लब जाने सावित्रा र अनिता पहिलो महिला फुटबल खेलाडी हुन् । दक्षिण एशियाली क्षेत्रमा एकछत्र राज गर्दै आएको भारतका सबै उमेर समूह र सिनियर टिमका खेलाडीले यो लिगमा सहभागिता जनाउादैछन् । जसका कारण सावित्रा र अनिताले थप एक्सपोजरको मौका पाउनेछन् । 

वैशाख २२ गतेदेखि लुधियानामा हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक महिनासम्म चल्ने लिगका लागि सावित्रा ८५ र अनिता ६५ हजार भारतीय रुपियाामा अनुबन्ध भएका हुन् । सावित्रा र अनिताले गर्ने प्रदर्शनबाट आउँदा दिनमा अरु खेलाडीका लागि भारतीय लिग खेल्ने ढोका खुल्ने समाचार कान्तिपुरमा छ ।