कक्षा १२ को बोर्ड परीक्षा : ४ लाख २८ हजार ५२ विद्यार्थीले परीक्षा दिँदै
काठमाडौं, १४ बैसाख ।
उच्च माध्यमिक शिक्षा अन्तरगतको कक्षा १२ को बोर्ड परीक्षा भोलीदेखि शुरु हुँदैछ ।
२०७६ को कक्षा १२ को अन्तिम परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले गराएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागि हुनेछन् ।
पत्रकार सम्मेलनमा नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा आइतबार (१५ वैशाख) देखि सुरु भई २६ वैशाखमा समाप्त हुने जानकारी दिइयो ।
जसमा कक्षा १२ को परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी हुनेछन् ।
त्यसैगरी, कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ देखि सुरु भई जेठ ८ मा समाप्त हुने जानकारी बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिए ।
कक्षा ११ को परीक्षामा भने ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी हुनेछन् । ११ र १२ दुवै गरी जम्मा ९ लाख ३६ हजार ५ सय ६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । यीमध्ये ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ जना छात्रा परीक्षार्थी रहेका छन् ।
११ र १२ को परीक्षाका लागि देशभर कूल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएका छन्, जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ वटा र सबैभन्दा कम मनाङ–मुस्ताङमा १–१ वटा मात्रै केन्द्र निर्धारण गरिएको जानकारी बोर्डले दिएको छ ।
परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी सबैभन्दा कम मनाङबाट कक्षा ११ को परीक्षामा ५१ जना र कक्षा १२ मा ५९ जना सहभागी हुनेछन् ।
बोर्डले कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको जनाएको छ जुन विगतका वर्षहरुमा पनि व्यवस्था गरिएको थियो ।
त्यसैगरी कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीहरुलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।