ओली अझै आक्रामक’विप्लव नेकपा दल होइन झुण्डमात्रै’– प्रम ओली

बिराटनगर, ३ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले विप्लवलाई सरकारले अनाधिकृत झुण्डका रुपमा हेरिरहेको बताए ।

‘यो कुनै दल वा संस्थाका रुपमा कहीं पनि आधिकारिक रुपमा दर्ता छैन,’ उनले भने, ‘दर्ता नभएकै कारण यसलाई सरकारले अनाधिकृत समूहका रुपमा लिएर त्यही हिसाबको व्यवहार गरिरहेको हो ।’ ओलीले भने, ‘विधि र प्रक्रियाअनुसार नचल्ने संस्थालाई आधिकारिक मान्न सकिंदैन । यस्तालाई सरकारले चिन्दैन पनि ।’

राजनैतिक दल भन्ने आवरणमा विप्लव समूह विभिन्न विध्वंसात्मक गतिविधीमा लागेको उनको आरोप छ । ‘यो काहीं पनि दर्ता भएर आधिकारिक भएको छैन । त्यही पनि आफूलाई आफैले दलको संज्ञा दिन्छ,’ उनले भने, ‘दल भएको भए जनताको सेवामा काम गर्नुपर्ने अवस्थामा विध्वंस मच्चाएर जनविरोधी काम गरिरहेको छ । त्यही विध्वंसात्मक गतिविधीमा सरकारले प्रतिबन्ध लगाएको हो ।’

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरे । ‘आफैलाई जवाफ दिन नसक्ने हिसाबमा विप्लवका बारेमा कुरा नगर्न म सबै नेताजीहरुलाई आग्रह गर्छु,’ ओलीले भने, ‘दलका रुपमा कहीं दर्ता नभएको यो समूह कहिले कोब्रा समूह भनेर चिनिने र कहिले के भनेर चिनिने जस्तै हो ।’ उनले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पारे । ‘बम पड्काएर आतंक सिर्जना गर्दै धम्क्याउने र तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ?’

ओलीले विप्लवलाई जनभावनाअनुसार अघि बढेर गम्भीर हिसाबमा राजनैतिक गतिविधी सञ्चालन गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने बताए । उनले सरकारले वार्ता टोली नै गठन गरेर विप्लव समूहलाई वार्तामा बोलाउँदा पनि नआएको बताउँदै भने, ‘नेपालमा सधैं अशान्ति मच्याउने वार्ता समितिसँग वार्ता गर्दिन भनेको हैन रु’ उनले विप्लवले उठाएका मुद्धा र राखेका माग सभ्य समाजले सुन्न सक्ने खालको नभएको टिप्पणी गरे । त्यही पनि सरकारले वार्ता टोली बनाएर वार्ताको प्रयास गर्दा विप्लवले अस्वीकार गरेको ओलीको भनाइ छ ।