आफु अर्थमन्त्री हुँदा पपुलर कार्यक्रम किन ल्याउन नसकेको ?
काठमाडौं , १७ जेठ ।
पटक पटक अर्थमन्त्री भईसकेका कांग्रेस नेता डा. रामशरण महत र महेश आचार्यलाई कांग्रेस सांसदहरुले जनताको जनजीविकासंग सम्बन्धित कार्यक्रम किन ल्याउन नसकेको भनेर प्रश्न गरेका छन् । आईतवार संसदीय दलको कार्यलयमा बसेको संसदीय दलको बैठकमा उनीहरुले यस्तो प्रश्न गरेका हुन् ।।
आर्थिक अनुशासन तोडेर बजेट ल्याउँदा मुलुकको आर्थिक अस्वस्था तहसनसह बन्ने तर्क गर्दै अर्थमन्त्रीको राजीनामा माग गर्नुपर्छ भन्न पछि नपर्ने नेताले अवसर पाउँदा जनता र उनीहरूको दैनिकीप्रति जिम्मेवार रहँदै बजेट ल्याउन नसक्नाको स्पष्ट कारण दिनुपर्ने माग प्रमुख विपक्षी दल कांग्रेसका सभासद्हरूले गरेका छन् ।
सांसदहरूले नेपालकै इतिहासमा सबैभन्दा बढी अर्थमन्त्री हुने डा.रामशरण महत, अर्का अर्थमन्त्री महेश आचार्य पदमा रहँदा जनताको जीवनस्तर आकर्षित गर्ने खालको बजेट ल्याउन नसक्नुका कारण माग गरेका थिए ।
कांग्रेस सांसदहरूले अर्थमन्त्री हुँदा आफूले प्रस्तुत गरेको बजेट निजी सम्पत्ति वितरण गरेझैं गर्ने उनीहरूको प्रवृत्तिको पनि खुलेरै आलोचना गरेका थिए ।
कांग्रेस नेतृत्वको सरकारले बजेट प्रस्तुत गर्यो कि प्रत्येक वर्गले किन छि भन्छ भन्दै सांसदहरूले आक्रोश पोखेका थिए ।
निकै ढिलो पुगेका पूर्वअर्थमन्त्री महेश आचार्यले बैठकमा भनेका थिए, ‘यो बजेट सत्तारूढ दलको लाभमा केन्द्रित रहेकाले राष्ट्र र जनताको हितमा कांग्रेसले संसद्मा सशक्त विरोध गर्नुपर्छ ।’
१५ वर्षकै न्यून आय भएको अवस्थामा आएको बजेट कार्यान्वयन हुन नसक्ने धारणा उनले राखे ।
अर्का पूर्वअर्थमन्त्री डा. महतले बजेटले बीपीभन्दा पुष्पलाल, मनमोहन, गणेशमानभन्दा मदन भण्डारी, कृष्णप्रसादभन्दा अन्य कम्युनिस्ट नेताहरूलाई सम्मान दिएकोमा घोर आपत्ति जनाएका थिए ।
बजेटमाथिको छलफल हुँदा संसद्मा कसरी प्रस्तुत हुने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलमा छलफल चलाएको हो । संसदीय दल बैठकमा सहभागी सांसदहरूले पार्टीबाट अर्थमन्त्री भएकाहरूसँग जनता सन्तुष्ट नरहेको धारणा राखेका थिए ।
सांसद भरत शाह, मोहन बस्नेत, रामहरि खतिवडाले बजेटले सर्वसाधारणलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने कुरा सिक्न एमालेले ल्याएको बजेटलाई गम्भीरताका साथ लिन डा.महतलाई आग्रह गरेका थिए ।
संसदीय दल बैठकमा आचार्य र डा. महत ढिलोसम्म नआएपछि सांसदहरूले उनीहरू अझै समूहको बैठकमा त छैनन् भन्ने आक्रोश व्यक्त गरेका थिए । सांसद पुष्पा भुसाल र रामहरि खतिवडाले पूर्वअर्थमन्त्रीहरूको उपस्थितिबिना दलको बैठक अघि नबढाउन पार्टी संसदीय दलका नेता शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।