व्यापारी केडिया भारतबाट अपहरणमुक्त, एक अपहरणकारी पक्राउ, गाडी र हतियारसमेत बरामद
१६ जेठ, काठमाडौं ।
तीन दिनअघि अपहरणमा परेका बाराका उद्योगी सुरेश केडिया आइतबार भारतबाट अपहरणमुक्त भएका छन् ।
बाराबाट अपहरणमा परेका उनी भारतको आज मोतिहारीबाट अपहरणमुक्त भएका हुन् ।
भारतीय टेलिभिजन आजतकले जनाए अनुसार भारतीय सुरक्षाकर्मीहरुले केडियालाई सकुशल अपहरण मुक्त गराएका हुन् । उनलाई अपहरण गर्नेमध्ये एक जना अपहरणकारी पनि पक्राउ परेको टेलिभिजनले जनाएको छ ।
केडिया अपहरणमा परेपछाडि नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसन संचालन गरिएको थियो । उद्योगी केडियालाई लुकाइराखेको घरमा भारतीय प्रहरीले छापा मारेर मुक्त गराएको हो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको समाचारमा उल्लेख गरिएको छ ।
यसबारेमा भारतको मोतिहारी प्रहरीका एसपीले केहिबेरमा पत्रकार सम्मेलन गर्ने बताएको छ । नेपाली उद्योगी केडियालाई लिन नेपाल प्रहरीको टोली पनि वीरगञ्जबाट मोतिहारीतर्फ गएको नेपाल प्रहरीले जनाएको छ ।
केडियालाई गत बिहीबार आफ्नो उद्योगबाट घर फर्कने क्रममा निजगढको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले अपहरण गरेका थिए ।