रास्वपा सभापति लामिछानेको बयान सकियाे, वैधानिक आम्दानी भएको जिकिर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ ।
सहकारी ठगीको मुद्दामा दुई महिनाभन्दा लामो समयदेखि थुनामा रहेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको बयान शुक्रबार सकिएको हाे। बिहीबारदेखि नै उनको बयान भएको थियो ।
सो मुद्दामा अझै केही बयान बाँकी छ । बाँकी बयान र थुनछेक बहस आगामी साता हुने अदालतले जनाएको छ ।
बयानको क्रममा लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले सम्पत्ति शुद्धीकरण अभियोगमाथि केन्द्रित रहेर शुक्रबार लिएको बयानमा लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक नरहेको दाबी गरे ।
‘म राम्रो पारिश्रमिकमा ग्यालेक्सी टिभीमा गएको थिएँ, कर तिरेर कानुनबमोजिम पारिश्रमिक मेरो खातामा आएको हो, अन्य पैसा आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन,’ उनले बयानमा भने । ७ पुसमा दायर मुद्दामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ ।
लामिछानेले आफ्नोे खातामा आउने–जाने गरेको बैंक ट्रान्जेक्सन देखाएर २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण चलाइएको बताए । ‘आफ्नै एउटा खाताबाट अर्काे खातामा सारेको, वालेटबाट खाता र खाताबाट वालेटमा गएको पैसा पनि जोडेर हिसाब निकालिएको छ,’ सम्पत्तिको स्रोतको विवरण न्यायाधीशलाई देखाउँदै लामिछानेले भने, ‘घरपरिवारको खातामा पठाएको, फेरि परिवारको खाताबाट मेरोमा आएको पैसा पनि जोडिएको छ ।’