सरकारले आज १० खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउँदै

bajet

काठमाडौं,१५ जेठ ।

सरकारले आगामी आर्थिक बर्ष २०७३/७४ का लागि आयब्यय सम्बन्धि विवरण आज सार्वजनिक गर्दैछ । सामाजिक सुरक्षा र पुर्वाधारमा केन्द्रित रहि सरकारले १० खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउन लागेको अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । अर्थमन्त्री बिष्णु पौडेलले अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारले आज सार्वजनिक गर्न लागेको बजेट चालु आर्थिक बर्षको भन्दा झण्डै दुई खर्बले बढी हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । चालु आर्थिक बर्षमा सरकारले ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्तामा बृद्धि, किसानलाई पेन्सन, स्वास्थ्य बिमा र ठुलो खाले पुर्वाधार बिकासको योजना समेटिएकाले बजेटको आकार बढेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । सरकारले नीति तथा कार्यक्रम मार्फत थुप्रै लोकप्रिय कार्यक्रम घोषणा गरेकाले त्यसको कार्यान्वयनका लागी पनि बजेटको आकार बढ्न गएको हो ।

बिगतमा रकम खर्च गर्न नसकेको भनेर आलोचना हुँदै आएपनि सरकारले आगामी बजेटमा चालु र पुँजीगत गरि दुवै शीर्षकमा भारी रकम बृद्धि गरेको छ । सरकारले चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब र बिकास परियोजनामा खर्च गर्ने गरि पुँजीगत बजेटमा ३ खर्ब ११ अर्ब ९४ करोड रुपैया बिनियोजना गरेको स्रोतले जनाएको छ । अर्थशास्त्रीहरुले भने ठुलो आकारको बजेट ल्याउँदा कार्यान्वयनमा जटिलता उत्पन्न हुने सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।