फाइनान्स र इन्स्योरेन्सले भारी मात्रामा हकप्रद निस्कासन गर्दै !
काठमाडौं,१२ जेठ ।
सगरमाथा फाइनान्सले पूँजी वृद्धिका लागि भारी मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसै गरि हामा मर्चेण्टले पनि हकप्रद निष्काशन गर्ने भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सले पनि बोनस शेयर बितरणका लागि बुक क्लोजको मिति तोकेको छ ।
सगरमाथा फाइनान्सले पूँजी बिस्तार गर्नका लागि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार ३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । ३१ करोड ८७ लाख ७३ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले १५ दशमलव ८५ प्रतिशत बोनस बितरण पश्चात हुने पूँजी ३६ ९२ लाख ९८ हजार रुपैंयाबाट प्रति १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६६ करोड ४७ लाख ३७ हजार रुपैंया नाघ्ने छ ।
जेठ २१ देखि असार ३ गतेसम्म फाइनान्सको शेयरधनी पुस्तिक बन्द रहने छ । त्यसै गरि हामा मर्चेण्ट एण्ड फाइनान्सले विशेष साधारण सभा आह्वान गरि शत प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गराउँदैछ । २२ करोड १० लाख रुपैंया चुक्ता पूँजी भएको फाइनान्सले एक बराबर एक कित्ताका दरले शेयर निष्काशन गरि चुक्ता पूँजी ४४ करोड २० लाख रुपैंया पुर्याउन लागेको हो । विषेश साधारण सभाका लागि फाइनान्सको शेयरधनी पुस्तिक जेठ १८ गते एक दिनका लागि बन्द रहनेछ ।
हिमालयन जनरल इन्स्योरेन्सले साधारण सभा प्रायोजनका लागि बुक क्लोजको मिति तोकेको छ । लगानीकर्तालाई २० प्रतिशत बोनस तथा १ दशमलव ०५ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको इन्स्योरेन्सले असार १४ गते हुने साधारण सभाका लागि जेठ २७ देखि असार १४ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।