
रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा
बेंग्लोर, १२ जेठ ।
गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बेंग्लोरको चिनास्वामी रंगशालामा गएराति भएको क्वालिफायरमा बेंग्लोरलाई ४ विकेटको जित दिलाउन एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए ।
कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरले डेभिलियर्सको शानदार ईनिङसँगै १५९ रनको चुनौतीलाई खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्यो । उनले ४७ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७९ रन जोडेपछि विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर फाईनलमा पुगेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातलाई १ सय ५८ रनको योगफलसम्म पुर्याउने क्रममा ड्वेन स्मिथले ७३ रन जोडेका थिए ।
सुरेश रैनाको कप्तानीमा रहेको पराजित टोली गुजरातले भने फाईनल प्रवेशका लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछ ।
आईपिएल क्रिकेटमा आज सनराईजर्स हैदरावाद र कोलकाता नाईट राईडर्स भिड्नेछन् । उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि गुजरात लायन्ससँग खेल्नेछ ।
