‘कालो पोथी’को १४ करोडको पाइरेसी बिमा

black-hen

‘कालो पोथी’ फिल्मको फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडको पाइरेसी बिमा गरेको छ। निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले विमा गरेको हो।

कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ। ‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि’ भामले भने। केही महिनायता ठूलो बजेटका पाँच नेपाली फिल्म पाइरेसीको मारमा परिसकेका छन्।

साढे तीन करोड बजेटको फिल्ममा नेपालसहित जर्मनी, फ्रान्स र स्वीटजरल्यान्ड समेतको संयुक्त लगानी छ। जेठ २१ गते रिलिज हुने फिल्ममा सशष्त्र युद्धताकाको सेटिङमा दुई बालकको मित्रताको कथा रहेको छ। फिल्मलाई हलिउड रिपोर्टर लगायतका प्रतिष्ठित मिडियाले राम्रो समिक्षात्मक रेटिङ दिएका छन्।