ओलिभर जिरुडले ह्याट्रिक गर्दै आर्सनललाई दोस्रो स्थानमा उभ्याए
काठमाडौँ, ३ जेठ । म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्ने लगभग निश्चित जस्तै भएको छ । सिटीलाई आइतबार इङलिस प्रिमियर लिगको सिजनको अन्तिम दिनको खेलमा स्वान्सीले १–१ को बराबरीमा रोक्यो ।
केलेची इहेनाचोको गोलमा सिटीले पाँचौं मिनेटमा अग्रता लिए पनि एन्ड्रे एयेवको डिफ्लेक्टेड फ्रिकिक गोलमा स्वान्सीले मध्यान्तर हुनु ठीक अगाडि खेल बराबरीमा ल्यायो । ३८ खेल खेलेको सिटीको ६६ अंक छ । सिटीलाई उछिनेर चौथो स्थान हात पार्न सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १९ गोलको अन्तरले पराजित गर्नुपर्नेछ ।
‘हामीले चाहेको जस्तो स्थान हात पार्न त सकेनौं, तर सिटी च्याम्पियन्स लिगका लागि हकदार छ,’ सिटीका व्यवस्थापक म्यानुएल पेलेग्रिनीले भने । सिटीको प्रमुखका रूपमा यो उनको अन्तिम खेल थियो । अर्को सिजनबाट पेप ग्वार्डिओलाले सिटी सम्हाल्नेछन् । ग्वार्डिओला बायर्न म्युनिखलाई जर्मन च्याम्पियन बनाएर सिटी आउन लागेका हुन् ।
प्रिमियर लिगका शीर्ष चार टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्न पाउने प्रावधान छ । त्यसमा पहिलो तीन सोझै समूह चरणका लागि छनोट हुन्छन् भने चौथो हुनेले प्लेअफ खेल्नुपर्नेछ । ओल्ड ट्रयाफोर्ड मैदानमा शंकास्पद वस्तु भेटिएपछि युनाइटेडको बर्नमाउथसँगको खेल स्थगित गरिएको छ ।
प्रिमियर लिगको उपाधि जितिसकेको लेस्टर सिटीलाई अन्तिम खेलमा चेल्सीले १–१ को बराबरीमा रोक्यो । सन् २००५ मा चेल्सीले कहिल्यै उपाधि जित्न नसक्ने व्यवस्थापक भनेर क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको थियो । दुई खेल अगाडि नै उपाधि जितेको लेस्टर र टोलीका व्यवस्थापक रेनेरीलाई चेल्सीले खेल सुरु हुनु अगाडि ‘गार्ड अफ अनर’ दिएको थियो । चेल्सीका मालिक रोमन अब्रामोभिजले खेल सुरु हुन अगाडि रेनेरीलाई अँगालो मारेका थिए ।
स्टामफोर्ड ब्रिजमा सेस फाब्रिगासको पेनाल्टी गोलमा चेल्सीले ६६ औं मिनेटमा अग्रता लियो । ड्यानी ड्रिङवाटरले ८ मिनेट अगाडि ३० यार्डबाट सुन्दर गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए । चेल्सी ५० अंकसाथ दसैं स्थानमा रह्यो । ८१ अंकसाथ सिजनको अन्त्य गरेको लेस्टरले दोस्रो स्थानको आर्सनललाई १० अंकले पछाडि पार्यो । आइतबारको खेल सुरु हुनुअगाडि सम्म दोस्रो स्थानमा रहेको टोटेनहमलाई रेलिगेसनमा परिसकेको न्युकासल युनाइटेडले ५–१ ले पराजित गर्यो । त्यसको फाइदा आर्सनलले उठायो । उसले एस्टन भिल्लालाई ४–० ले पराजित गर्यो । ओलिभर जिरुडले ह्याट्रिक गर्दै आर्सनललाई दोस्रो स्थानमा उभ्याए । आर्सनलको ७१ र टोटेनहमको ७० अंक रह्यो ।
साउथह्याम्पटन इतिहासमै सबैभन्दा बढी ६३ अंक बटुली पाँचौं स्थानमा रह्यो । म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई पराजित गरेमा साउथह्याम्पटन छैटौं स्थानमा झर्नेछ । तर पनि टोली अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ । साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्यो ।
वेस्ट ह्याम भने स्टोक सिटीसँग २–१ ले पराजित भयो । युरोपा लिगका लागि वेस्ट ह्यामले कुर्नुपर्ने भएको छ । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई एफए कपको फाइनलमा पराजित गरेमा मात्र वेस्ट ह्याम युरोपा लिगमा छनोट हुनेछ । युरोपा लिगको फाइनल खेल्ने क्रममा रहेको लिभरपुललाई वेस्ट ब्रुमले १–१ को बराबरीमा रोक्यो ।
अघिल्लो सातामात्र आफ्ना व्यवस्थापक रोबर्टो मार्टिनेजलाई बर्खास्त गरेको एभरटनले नर्विचमाथि ३–० को जित हात पार्यो । वाटफोर्ड र सन्डरल्यान्डबीचको खेल २–२ को बराबरीमा टुंगियो ।