शिक्षामन्त्रीकोे व्यस्तता,एकैैदिन ११ कार्यक्रममा सहभागी
काठमाडौैं,२९ वैैशाख ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए । आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरे । बिहान ६ बजेदेखि अपराह्न दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका थिए । प्रहरी स्कर्टिङमा हिँड्दा ढिलो हुने भएपछि मन्त्री पोखरेलको गाडी धेरै ठाउँमा स्कर्टिङ पछि पार्दै अघि बढेको थियो ।
उनी केही स्थानमा पाँच मिनेट पनि नबसी सिमेन्ट र बालुवामा इँटा जोडेर शिलान्यास गर्दै हिँडेका थिए । मन्त्रीले समय नदिएको भन्दै केही ठाउँमा स्थानीय तथा पार्टी कार्यकर्ताले गुनासोसमेत गरे । महोत्तरीको रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमाविमा प्राविधिक तथा व्यावसायिक भवनको शिलान्यासपछि मन्त्री पोखरेल मञ्चमै नउक्ली हिँड्न खोज्दा सहभागीले असन्तुष्टि व्यक्त गरेका थिए । गाडी चढिसकेका उनले गुनासो आएपछि मञ्चमा पुगेर दुई मिनेट सम्बोधन गरेका थिए ।
पोखरेलले बिहान ६ बजे आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बर्दिबास–६ कालापानीको सरस्वती मावि भवन शिलान्यास गरेका थिए । विद्यालयकी प्रधानाध्यापिका सानी भण्डारीले दिएको सिमेन्ट र बालुवामा इँटा जोडेलगत्तै उनी भारतीय सीमा क्षेत्रमा पर्ने महोत्तरीको सम्सीमा मदरसा अनुगमन गर्न हिँडेका थिए । बर्दिबासबाट ४५ किलोमिटर टाढा रहेको असरफिया खाजनतुल उलुन मदरसाको अनुगमनपछि उनले पाँच मिनेट मुस्लिम समुदायलाई सम्बोधन गरे ।
अन्तिममा अपराह्न दुई बजे सर्लाही हरिऔनेको सगुन शिक्षा सहकारी भवनको शिलान्यासपछि मन्त्री पोखरेल काठमाडौं फर्केका छन् । काठमाडौं फर्कन सिमरा विमानस्थल प्रस्थान गर्नुअघि उनले भने, ‘जिल्ला आएका वेला एकैदिन धेरै ठाउँमा नपुगे मन्त्रालयको अरू काम गर्न भ्याइँदैन । त्यसैले धेरै ठाउँको कार्यक्रममा पुगेको हो ।’
शिक्षामन्त्रीले मंगलबार भ्याएका कार्यक्रमहरू
बिहान ६ बजे बर्दिबास–४ कालापानीस्थित सरस्वती माविको चारकोठे भवन शिलान्यास
६ः४५ बजे बर्दिबासको भब्सीस्थित राष्ट्रिय निमाविको तीनकोठे भवन शिलान्यास
८ः१५ बजे जनता मावि दोलाठीमा तीनकोठे भवन शिलान्यास
८ः३५ बजे ससौला–६ स्थित राष्ट्रिय निमावि हरिहरपुरको तीनकोठे भवन शिलान्यास
९ः३० बजे लक्ष्मीनिया बैरगिया–३ मा मुस्लिम समुदायको भेलालाई सम्बोधन र खाजा
१०ः२० बजे सीमा क्षेत्र सम्सीस्थित जनता निमाविको निरीक्षण र भेलालाई सम्बोधन
१०ः४० बजे सम्सीकै असरफिया खाजनतुल उलुन मदरसाको अनुगमन र सम्बोधन
११ः२० बजे राष्ट्रिय मावि पर्सादेवाडको नवनिर्मित भवन र मावि कक्षाको उद्घाटन
११ः४० बजे श्री मावि बैरियाको चारकोठे भवनको शिलान्यास
१२ बजे महेन्द्र उमाविमा प्राविधिक तथा व्यावसायिक कक्षा उद्घाटन र भवन शिलान्यास
दिउँसो २ बजे सर्लाहीको हरिवनस्थित सगुन शिक्षा सहकारीको भवन शिलान्यास
दिउँसो २ः१० बजे हरिवनबाट सिमरा एयरपोर्ट प्रस्थान
३ः२० बजे सिमराबाट काठमाडौं प्रस्थान ।
साभार–नयाँ पत्रिका दैनिकबाट