सेयर बजारमा सवा १० अर्बको हकप्रद सेयर भित्रने

qqq

सेयर बजारमा केही महिना भित्रै सवा १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर भित्रने भएको छ ।

नेपाल धितोपत्र बोर्डमा परेको आवेदनअनुसार सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुन लागेको हो । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ (१० करोड २८ लाख कित्ता) बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् । तीमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीहरूलाई सेयर निष्कासन गर्न बाटो खुल्ने छ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
नेपाल राष्ट्र बंैकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको निर्देशन दिएपछि हकप्रद र बोनस सेयर जारी गर्ने क्रम बढेको छ ।

पुँजी वृद्धिका विभिन्न विकल्पमध्ये धेरै कम्पनीले हकप्रद सेयर र बोनस सेयरलाई नै रोजेपछि यस्तो अवस्था आएको हो । हकप्रद सेयर कम्पनीका सेयरधनीले मात्र खरिद गर्न पाउने हो । उक्त कम्पनीको सेयरको बजार मूल्य जति भए पनि सेयरधनीले अंकित मूल्य (प्रतिकित्ता १ सयका दरले) मै खरिद गर्न पाउँछन् । कम्पनीले सेयरधनीबाटै पुँजी उठाउन चाहेको अवस्थामा हकप्रद सेयर जारी गरिन्छ ।

हकप्रद सेयरका लागि कम्पनीहरूमा ३ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक र १३ वटा फाइनान्स कम्पनीको बोर्डमा आवेदन परेको छ । यस्तै २ वटा बिमा, १ जलविद्युत् कम्पनी र नागरिक लगानी कोषले आवेदन दिएका छन् ।

केही कम्पनीहरूले ५/६ वर्षअघि नै आवेदन दिएका हुन् । तर, सेयर निष्कासन गर्नुअघि नै अन्य वित्तीय संस्थासँग मर्जर भएर नयाँ संस्था बनिसकेका छन् । उक्त कारण ती कम्पनीहरूमार्फत हकप्रद सेयर निष्कासन हुने छैन । यस्ता कम्पनीहरूमा सिद्धार्थ फाइनान्स, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गोर्खा विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंकलगायत छन् । नागरिक लगानी कोषले १ कित्ता बराबर एक सेयर (१:१) का दरले हकप्रद सेयर निष्कासनका लागि ०६८ मै बोर्डमा आवेदन दिएको थियो । तर, पछि कम्पनीले बोनस सेयरमार्फत नै पुँजी पुर्‍याउने योजना बनाएपछि उक्त प्रक्रिया अघि नबढेको कोषका प्रवक्ता सुशील अर्यालले बताए । ‘कम्पनीले पुँजी वृद्धिको योजना परिमार्जन गरेकाले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि नबढेको हो,’ उनले भने । सोही योजनाबमोजिम कम्पनीले हरेक वर्ष बोनस सेयर जारी गर्दै आएको उनले जानकारी दिए ।

अहिले सानिमा, एनआईसी एसिया र सिटिजन्स गरी तीनवटा वाणिज्य बैंकले हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । सानिमाले दुई सेयर बराबर एक कित्ता (२:१), एनआईसी एसियाले चार कित्ता बराबर १ कित्ता (४:१) र सिटिजन्सले १० कित्ता बराबर साढे ५ कित्ता (१०:५.५) का दरले हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएका छन् ।

यस्तै ०७२ मा मात्रै २२ वटा कम्पनीले ३ अर्ब ४९ करोड ४१ लाख (३ करोड ४९ लाख कित्ता) रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन अनुमति पाएका छन् । तीमध्ये अधिकांशले सेयर निष्कासन गरिसकेका छन् । कर्णाली डेभलपमेन्ट बैंक र नेपाल कमिन्युटी डेभलपमेन्ट बैंकले छिट्टै निष्कासन गर्दै छन् । कर्णाली डेभलपमेन्ट बैंकले दुई सेयर बराबर एक कित्ता (२:१) सेयरका दरले यही वैशाख ३० गतेदेखि निष्कासन गर्दै छ । नेपाल कमिन्युटी डेभलपमेन्ट बैंकले आउँदो जेठ २ गतेदेखि एक सेयर बराबर एक कित्ता (१:१) का दरले सेयर निष्कासन गर्न लागेको हो ।

यसैगरी ०७२ मा बोर्डले ९ वटा कम्पनीलाई ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ बराबरको प्राथमिक (आईपीओ) सेयर निष्कासन अनुमति दिएको छ । तीमध्ये ९ वटा कम्पनीले सेयर निष्कासन गरिसकेका छन् । मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँट प्रक्रिया बाँकी छ भने, ङादी ग्रुप पावरले अझै निष्कासन गरेको छैन । यो कम्पनीले अहिले ९ करोड ७३ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणका लागि निष्कासन गर्दै छ । यसअघि स्थानीयवासीका लागि सेयर निष्कासन गरेको थियो ।

महिनाभर प्रचार गर्नुपर्ने कम्पनीले
हकप्रद सेयर निष्कासन गर्दा एक महिनासम्म प्रचारप्रसार गर्नुपर्ने भएको छ । यसअघि हकप्रद सेयर निष्कासन गर्दा एक पटक मात्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरे पुग्ने व्यवस्था थियो । अहिले त्यो व्यवस्था परिमार्जन गरी सञ्चार माध्यममार्फत महिनाभर प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले मंगलबार कम्पनीहरूलाई उक्त निर्देशन दिएको छ । धेरै सेयरधनीले जानकारी नपाएरै छुट्ने गरेका थिए । यस व्यवस्थालाई मध्यनजर गर्दै बोर्डले हकप्रद सेयर निष्कासन प्रक्रियालाई पनि व्यापक बनाउन निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार हकप्रद सेयर निष्कासनको पहिलो साता दुई वटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना सार्वजनिक गर्नुपर्ने छ । दोस्रो साता कम्तीमा राष्ट्रिय स्तरको आर्थिक दैनिक पत्रिका, तेस्रो साता दुई वटा अनलाइन पत्रिकामार्फत र चौथो साता दुई वटा एफएम रेडियोमार्फत सूचना सार्वजनिक गर्न बोर्डले निर्देशन दिएको छ ।

यस्तै हकप्रद सेयर बाँकी रही बोलकबोलबाट बिक्री गर्नुपरेको अवस्थामा कम्तीमा १५ दिनअघि राष्ट्रिय स्तरका दुई वटा दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्नुपर्ने भएको छ । अहिले कम्तीमा ७ दिनअघि सूचना सार्वजनिक गरे पुग्ने व्यवस्था थियो । यस्तो सेयर बिक्रीको सूचना पनि अनलाइन पत्रिका, एफएम रेडियो र आर्थिक दैनिक पत्रिकामार्फत प्रचारप्रसार गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।