
भूकम्पमा पुरिएको १३ दिनपछि एक बृद्धको जिउँदै उद्धार
काठमाडौं, १९ वैशाख ।
इक्वेडरमा आएको भूकम्पबाट क्षति भएको भवनको भग्नावशेषमा पुरिएका एक वृद्धलाई १३ दिनपछि जिउँदै बाहिर निकालिएको छ । उद्धारकर्ताहरुले ७२ वर्षीय मेनुअल वास्केजलाई जिउँदै बाहिर निकालेका हुन् ।
भेनेजुयलाको क्विटोस्थित दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ, ‘इक्वेडरको भ्रमणमा आएका मेनुअल बास्केजलाई पत्ता लगाएर उद्धारकर्मीहरुले सकुशल बाहिर निकालेका छन् ।’
इक्वेडरमा गत १७ अप्रिलमा ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्प गएको थियो । भूकम्पमा परेर ६ सय ६० जनाको मृत्यु भएको छ ।
दूतावासले भनेको छ– गत शुक्रबार मनाबी प्रान्तको एक क्षतिग्रस्त भवनबाट वास्केजले उद्धारकर्मीहरुलाई बोलाइरहेका थिए । त्यतिबेला क्षतिग्रस्त संरचनाहरुको निरीक्षण भइरहेको थियो ।
उनलाई उद्धार गरेपछि अस्पताल भर्ना गरिएको छ । उनको स्वासप्रश्वासमा समस्या देखिएको छ ।
