सिद्धबाबा मानव तस्करीमा संलग्न हुने गरेका प्रमाण भेटिए
काठमाडौं,१६ वैशाख ।
एकाएक चर्चा बटुले पनि विज्ञानलाई नै चुनौति दिने गरी र लाखौं शुभेच्छुकहरुलाई समेत धोका दिएर छलछाम गरी बिनाअक्सिजन ९ दिनसम्म समाधि बसेका भनिएका सिद्धबाबा उर्फ कृष्णदास महाराज उर्फ कृष्णबहादुर गिरी मानव तस्करीमा समेत संलग्न हुने गरेका प्रमाण भेटिएको छ ।
योगी र सन्तको भेषमा जडीबुटी तस्करीमा संलग्नता र दोहोरो नागरिकता बनाएर गैरकानूनी कार्यमा संलग्न हुँदै आएको आरोप खेपेका सिद्धबाबा उर्फ कृष्णदास केही भारतीय दलालसँग मिलेर सोझा युवालाई विदेश पठाउने धन्दामा संलग्न रहेका र सो क्रममा उनले ११ जनालाई अलपत्र पारी पैसा समेत खाइदिएका तथ्य खुलेको हो ।
०६८ सालमा कृष्णदासले आफन्तसहितका १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पुर्याएका थिए । दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी सिंगापुर टेनिंगको नाममा जान दवाब दिएका थिए । तर सिंगापुर जान लाखौं खर्च गरी दिल्ली गएकाहरुले आफूहरु वर्किंग भिसामा मात्र जाने र त्यसैको नाममा पैसा लिएपछि धोकामा नपर्ने बताएपछि कृष्णदासको धन्दा चौपट भएको थियो । ‘सिंगापुर पठाउने नाममा उनले प्रत्येकबाट ४ लाख १६ हजारको दरले रकम उठाएका थिए ।’ सो क्रममा उनीबाट ठगिएका एक पीडितले भने–‘केही रकम फिर्ता गरे पनि अझै केही रकम फिर्ता गरेका छैनन् ।’ ती पीडितका अुनसार कृष्णदासले दिल्लीमा अलपत्र पारेको सोझा नेपाली युवाको टोली कयौं दिनसम्म त्यहीँ अलपत्र परेको थियो ।
सिद्धबाबाले तालिमको बाहानामा सिंगापुर लैजान लागेका विभिन्न युवाहरुसँग सम्बन्धित कागजात ।
पीडितहरु नेपाल फर्किएर कृष्णदासविरुद्ध मोर्चाबन्दीमा उत्रिएका थिए । तरहरास्थित कृष्णदासको घर पीडितले घेरेका थिए । कृष्णदासले विदेश पठाएकामध्ये अधिकांश आफन्त रहेकोले केही रकम दिएर मानवतस्करी र ठगीको सो मुद्धालाई मिलाउने प्रयास गरिएको थियो । सो क्रममा कृष्णदासले पैसा फिर्ता गर्ने प्रलोभन देखाई आफूहरुसँग भारत तिर्थाटनमा आएको बेला भारतीय दलालको चंगुलमा फसेको व्यवहोराको कागज बनाई त्यसमा सहीछाप समेत गर्न लगाएका अर्का एक पीडितले जानकारी दिए ।
स्रोतका अनुसार सो बेला कृष्णदासको मानवतस्करी र ठगीको धन्दामा नयाँ दिल्लीमा आफूलाई कृष्णदासकी चेली बताउने एनआरएन सिटीकी सोनाल साह र उनका छोरा धिरज साहले भारतीय एजेण्टको रुपमा काम गरेका थिए । उनीहरुसँग मिलेर कृष्णदासले कमलप्रसाद गिरी, नारायणकाजी गिरी, संगीत गिरी, भरत गौतम, छविरमण भारती, सुमन गिरी, देवराज गिरी, डिकबहादुर भट्टराई, योगबहादुर घिमिरे र अर्जुनबहादुर गुरुंगलाई ठगी गर्ने काम गरेका थिए । यीमध्ये छविरमण र भरत पश्चिमका हुन् भने बाँकी सुनसरीको इटहरी आसपासकै हुन् ।
ठगीमा परेकाहरु नेपाल फर्किएपछि आफू बर्बाद हुने डरले कृष्णदासले आफ्नो नाममा रहेको इटहरीको जग्गा बिक्री गरेर केही रकम फिर्ता गरेका थिए । बाँकी लाखौं रकम उनले फिर्ता नगरेका पीडितको दाबी छ ।
पीडितहरुले बढी च्याप्न थालेपछि दिल्लीस्थित एजेन्ट साहलाई आफूले जेल हालेको कृष्णदासले बताउने गरेका थिए । तर पछिबाट बुझ्दा आफू उम्किन र आफ्नो फट्याईं नरहेको देखाउन त्यसो गरिएको कुरा आफूहरुले पछिबाट मात्र बुझेको ती पीडितको भनाई छ । पीडितमध्ये अधिकांशको पासपोर्ट दिल्लीस्थित एक थानामा अझै पनि रहेको छ । ती पासपोर्ट लिन कुनै पनि नेपाली दिल्ली थाना पुगेका छैनन् ।
bizshala.com बाट