आइएसको ८० करोड अमेरिकी डलर अमेरिकी सेनाद्धारा नष्ट
अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् ।
अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको बताए ।
सन् २०१४ मा अमेरिकाले आफूले अहिलेसम्म कारबाही अभियानमा सामेल भएका मध्ये आइएस सबैभन्दा धनी विद्रोही संगठन रहेको बताएको थियो । अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसविरुद्ध गरेको कारबाहीबारे पत्रकारलाई जानकारी दिने क्रममा जनरल गस्टर्नले पछिल्ला २० हवाई आक्रमणका क्रममा आइएसको कोषको ठूलो रकम नष्ट गरिएको बताएका हुन् ।
उनले इराकको मोसुलमा रहेको एक घरमा गरिएको आक्रमणमा मात्रै १५ करोड नष्ट भएको दाबी गरे । कति रकम नष्ट भयो भन्ने यकिन गर्न नसकिए पनि ५० देखि ८० करोड डलरसम्म नष्ट भएको हुनसक्ने उनको भनाइ थियो । (एजेन्सी)