‘क्याराभान’का अभिनेता थिन्लेको निधन
काठमाडौं, १३ वैशाख ।
बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको निधन भएकाे छ ।
सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र र्याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले जनाएको छ ।उनी ७५ वर्षका थिए ।
उनले अभिनय गरेको चलचित्र क्याराभान ओस्कारसम्म पुगेको थियो ।
हिउँ छल्न सदरमुकाम दुनै झरेका थिन्ले आइतबार घर र्फकदै थिए । अघिल्लो वर्ष्मा जेठसम्मै हिउँले बाटो छेक्थ्यो ।
यो वर्ष कम हिउँ परेकाले वैशाख दोस्रो साता ननाघ्दै उनी घोडा चढेर साल्दाङ घर र्फकन लागेका थिए । विहान ११ वजेतिर निस्किएका थिन्लेको घोडालाई दिउँसो साढे २ बजेतिर छेप्कामा खच्चडले धकेल्यो ।
उनी घोडासँगै भीरबाट झन्डै ४० मिटर तल खसे । केही बेरमै उनको निधन भयो । साघुँरो बाटो भएका कारण उनी घोडा सहित खसेका थिए ।
ढिलो भएका कारण उनको शव आइतबार घटनास्थलबाट उठाउन सकिएन । सोमबार बोकेरै वा हेलिकप्टरबाट दुनै ल्याइने प्रहरीले जनाएको छ ।
फ्रान्सेली निर्माता एरिक भ्यालीले थिन्लेलाई नायक बनाएर दुनै साल्दाङको नुन र खाद्यान्य ओसार्ने चौरीहरुको कथामा आधारित क्याराभान बनाए । क्याराभन बनेपछि थिल्ने निकै चर्चामा आएका थिए ।