
जापानमा भूकम्पमा परी ९ जनाको मृत्यु,हजार बढी घाइते
काठमाडौं,३ वैशाख ।
दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने हजार बढी घाइते भएका छन् ।
स्थानीय समय अनुसार हिजो राती साढे नौ बजे गएको क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो ।
त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ ।भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ ।
प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ ।त्यस क्षेत्रमा अहिले पनि सानो सानो पराकम्प गइरहेको छ, जसका कारण मानिसहरु डरले खुला क्षेत्रमा बसेका छन् ।
