बेशीशहर महोत्सवमा प्रहरुीको पनि स्टल, सर्वसाधारणको भिड

लमजुङ्ग, २८ चैत ।

महोत्सव, मेला भन्ने वित्तिकै मनोरन्जनका रुपमा लिन्छौं । हुनपनि दर्शकहरु रमाइलोकै लागि महोत्सव स्थलमा पुग्छन । रमाइलो हेर्न गएका दर्शकलाई प्रहरीले भने त्यसै छोडेको छैन । प्रहरीले महोत्सव हेर्न आएका दर्शकलाई कानुनी सचेतनाबारे जानकारी गराएको छ ।

महोत्सव स्थलमा स्टल नै राखेर प्रहरी, ट्राफिक प्रहरीले कानुनी सचेतनाबारे लेखिएका पोष्टर, पम्पलेट वितरण गर्नुका साथै मौखिक जानकारी समेत गराएका छन् ।

महोत्सव अवलोकनका लागि आएका दर्शकलाई प्रहरीले दिने सेवा सुविधा र सवारी दुर्घटनाका विषयमा जानकारी गराउने गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।

महोत्सवमा बनाइएका कुल १ सय ६५ स्टलमध्ये प्रहरीको स्टलमा सर्बसाधारणहरुको भीड लाग्ने गरेको छ । स्टलबाट जिल्ला प्रहरी कार्यलयबाट प्रवाह हुने सेवा, सडक दुर्घटना, बालविवाह, मदिरा सेवनबाट परिवारमा हुने कलह लगायतका बारेमा नागरिकहरुलाई सुसुचित पारिएको छ ।

समाजमा हुने उच्छृङखल गतिबिधिलाई महोत्सवमा चलाइएको यस अभियानले केही हदसम्म न्युनिकरण गर्ने प्रहरी नायव उपरिक्षक ढकालले बताउनुभयो । उहाँले महोत्सवमा दैनिक हजारौैं सर्बसाधाणको उपस्थिती हुने हुनाले स्टल राखेरै सचेतनाको अभियान चलाएको बताउनुभयो । सडक दुर्घटनामा परेको ब्यक्तिसहितको तस्बिर, समाजमा घटेका घटनाहरुको तस्विर, जिल्ला प्रहरी कार्यालयले दिएको मुस्कानसहितको सेवा लगायतका तस्विरहरु राखेर प्रहरीले स्टललाई पठनिय बनाएको छ ।

प्रहरीले आफ्नो स्टलमा महिला, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई सवारी साधनमा छुट्याइएको सिट, सवारीको सिट क्षमताका बारेमा पनि नागरिकहरुलाई जानकारी गराएको छ । समाजमा हुने जुनसुकै घटनाको तत्काल प्रहरीमा सम्पर्क गर्न सुचित गरिएको छ । स्टलमा पोशाकमा खटिएका प्रहरी र ट्राफिक प्रहरी देखेपछि महोत्सव स्थल पुगेका अधिकांश नागरिकहरु प्रहरीको स्टलमा गएर भित्तामा टाँसिएका तस्बिर हेर्ने, पर्चा पम्प्लेट पढ्ने र प्रहरीले प्रवाह गर्ने सेवाका बारेमा जानकारी लिने गरेका छन् ।
चैत २४ गतेदेखि बेसीशहरको दनाईफाँटमा सुरु भएको महोत्सव बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । आयोजक लमजुङ उद्योग बाणिज्य बेसीशहर इकाईका अनुसार महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जन दिइएको छ ।