बालीका सम्मेलन हुँदै

काठमाडौं ,१० चैत ।

bbbbbbbbb

आज राजधानीमा बालीका सम्मेलन हुँदैछ । बालविवाह , कलिलो उमेरमा हुने विवाह र जबरजस्ती हुने विवाहलाई निरुत्साहित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारी र बेलायती राजकुमार ह्यारीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा किशोर किशोरी, युवा, नागरिक समाज, धार्मिक अगुवा, सरकारी तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्व, विज्ञ तथा लैङ्गिक समानता, महिला, बालबालिका तथा किशोर किशोरीको अधिकार एवम सशक्तिकरणको क्षेत्रमा क्रियाशील व्यक्तिको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्मका लागि तय गरेको दिगो विकासको कार्यसूचिमा बालविवाह, कलिलो उमेरमा हुने बिवाह र जबर्जस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । सन् २०१४ मा लण्डनमा आयोजित पहिलो अन्तर्राष्ट्रिय किशोरी सम्मेलनमा सहभागिता जनाएको नेपालले बालविवाह , कलिलो उमेरमा हुने विवाह र जबरजस्ती विवाहको अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । २०३० सम्ममा बालविवाह मुक्त समाजको परिकल्पनासहित बालिकाको भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतामा जोड दिदै सम्मेलन आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल्ऽमा १० देखि १९ वर्षसम्मका १३ लाख भन्दा बढी किशोरीहरु बालविवाहको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै १५ देखि १९ वर्षसम्मका २४ दशमलव ५ प्रतिशत महिला विवाहित रहेका छन् भने २० देखि ४९ वर्षसम्मका ४८ दशमलव ५ प्रतिशत महिलाको १८ वर्ष नपुग्दै विवाह भएको पाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।