नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नै हुने

काठमाडौं ,७ चैत ।

 आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको खेल नेपालमै हुने निश्चित भएको छ ।

आगामी वैशाख ४ र ६ गते हुने नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नै हुने लगभग पक्का भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । उहाँले आइसिसीले पठाएको प्रतिनिधि एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलाले आज त्रिवि मैदानको अवलोकन गर्ने क्रममा उक्त भनाइ व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

आइसिसीले बन्दुलालाई त्रिवि मैदानको भौतिक पूर्वाधारबारे अवलोेकन गर्न नेपाल पठाएको थियो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले उक्त प्रतियोगिता नेपालमा नै गर्ने निर्णय गरे तापनि क्यानको विवादको कारण खेल नेपालमा हुने या नहुने निश्चित हुन सकेको थिएन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि भएको पहिलो चरणको खेलमा स्कटल्यान्ड र दोस्रो चरणको खेलमा पपुवा न्युगिनीसँग नेपाल पराजित भएको थियो ।