भूकम्पले क्षति पुर्‍याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने

काठमाडौं , ३ चैत ।

Dasharat-Stadium

गत बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षति पुर्‍याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने भएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुनःनिर्माणका लागि करिव १ अर्व लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले  बताए ।

सदस्यसचिव विष्टले भने-‘क्षतिग्रस्त संरचनाको डिपिआरबाट केन्द्रकासाथै मध्य नेपालका १४ जिल्लाका संरचना पुनःनिर्माणका लागि १ अर्व खर्च लाग्ने देखिएको छ । मन्त्रालयबाट १२ करोडमात्र निकासा भएको छ ।’ यो बर्ष डिपिआर तयार गर्नमात्र समय खर्चिएको परिषदले अर्कोबर्षको सुरुदेखिनै केन्द्रबाट पुनःनिर्माण सुरु गर्ने योजना बनाएको सदस्यसचिव विष्टले बताए ।

national-sports-council-nepalपूर्वनिर्धारित तालिका परिवर्तन नभएमा नेपालले दुई बर्षपछि १३औं दक्षिण एशियाली खेलकुदको आयोजना गर्नेछ । त्यसका लागि पनि पुनःनिर्माण र नवनिर्माणमा परिषदले चुस्तता देखाउनुपर्नेछ । सदस्यसचिवले भने-‘दृढ इच्छाशक्ति लिएर अघि बढ्ने हो भने हामी दुई बर्षभित्र सागका लागि पूर्वाधार तयार गर्न सक्छौं । त्यसका लागि बजेट महत्वपूर्ण हुन्छ ।’

गत बैशाखको भूकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाका साथै सुविधासम्पन्न कवर्डहलमा क्षति पुगेको छ । राष्ट्रिय खेलकुद परिषदको मूख्य भवन नै भूकम्पले जर्जर बनेको छ । त्यस्तै भूकम्प्रभावित जिल्लाका खेलकुद संरचनाहरुपनि प्रयोग गर्न नमिल्ले बनेका छन् ।-

अनलाइनखवरबाट