न्यायपरिषदले स्थायी न्यायाधीशमा सिफारिस नामावली पुनःसंसद पठायो

सन्ताेष पाैडेल
काठमाडौं
 काठमाडौं , ३ चैत २०७४ ।

न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस नामावली पुनः संसदीय सुनुवाइका लागि पठाएको छ। परिषदको मंगलबार बसेको बैठकले फागुन १८ गते सिफारिस भएका ११ जनाकै नाम पुनः संसद पठाएको हो।

सभामुख ओनसरी घर्तीमगरले यसअघि पठाइएका नामावली परिषदमै फिर्ता पठाइदिएपछि विवाद चर्किएको थियो । सभामुख घर्तीले सिफारिस व्यक्तिको सुनुवाइका लागि संसदीय सुनुवाइ समिति गठन नभएको, परिषद आफैं अपूर्ण रहेको जनाउँदै प्रक्रिया रोकेकी थिइन् । सभामुखको उक्त कदमविरुद्ध परेको रिटमा सोमबार फैसला गर्दै सर्वोच्च अदालतले न्यायाधीश नियुक्ति प्रक्रिया नरोक्न आदेश दिएको थियो ।

परिषद बैठकले मंगलबार नामावली पुनः संसद पठाएको कानुनमन्त्री अग्नि खरेलले बताए । ‘म र प्रधान न्यायाधीश कल्याण श्रेष्ठसँगको छलफलमा सभामुखले पुनः सिफारिस गरे प्रक्रिया अगाडि बढाउने बताएपछि पत्र पठाइएको हो,’ उनले भने । मन्त्री खरेलका अनुसार मंगलबारको पत्रमा परिषदले यसअघि पठाएको पत्र पनि साथै राखिएको छ । पत्रमा संविधानको धाराअनुसार संसदीय सुनुवाइ गरी नियुक्ति अघि बढाउन आग्रह गरिएको छ ।

परिषदले सर्वोच्चमा लामो समयदेखि रिक्त स्थायी न्यायाधीशमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायी समेटेर सिफारिस गरेको थियो । सिफारिसमा नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीनिकटका कानुन–व्यवसायी समेटिएका छन् । यसअघि दलीय होडबाजी र नयाँ संविधानमा न्यायपरिषदसम्बन्धी व्यवस्था स्पष्ट नभएका कारण न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सभामुख घर्ती र न्यायपरिषदबीचको विवाद सोमबारबाट निष्कर्षतिर लागेको हो । सभामुखले बिहानै प्रधान न्यायाधीश तथा परिषद अध्यक्ष कल्याण श्रेष्ठसँग भेटेर सिफारिस व्यक्तिको सुनुवाइ प्रक्रिया अगाडि बढाउन आफू बाधक नरहेको प्रस्ट्याएकी थिइन् । अदालतको आदेशसमेत आएपछि उनलाई न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन दबाब परेको थियो ।

कानुनमन्त्री खरेल केही दिनदेखि सभामुख घर्तीलगायत अन्य शीर्ष नेतासँग विवाद मिलाउन सक्रिय थिए । पूर्व प्रधानन्यायाधीश दामोदर शर्माको पालामा पुनरावेदन अदालतमा कार्यरत आठ न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा थप स्थायी न्यायाधीश सिफारिस हुन सकेको थिएन । नयाँ संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने व्यवस्था भए पनि हाल दस जना मात्र छन् ।

नयाँ संविधानमा सदस्यको पदावधिबारे स्पष्ट व्यवस्था नहुँदा न्यायपरिषद आफै पनि अपूर्ण छ । अहिले परिषदमा बार र प्रधानमन्त्रीबाट सिफारिस हुने सदस्य रिक्त छन् । बारका तर्फबाट परिषद सदस्य तोकिएका उपेन्द्रकेशरी न्यौपानेले गत वर्ष राजीनामा दिएका थिए । लगत्तै प्रधानमन्त्रीबाट नियुक्त सदस्यले पनि अवकाश पाएपछि परिषद तीन सदस्यमा सीमित भएको थियो । खाली सदस्यमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाकै पालामा सरकारका तर्फबाट अधिवक्ता रामप्रसाद सिटौला र बारका तर्फबाट अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भए पनि संविधान जारी भएपछि उनीहरूले अवकाश पाएका थिए । नयाँ संविधानमा सदस्यको पदावधिबारे स्पष्ट व्यवस्था नहुँदा उनीहरूले अवकाश पाएका हुन् ।

हाल परिषदमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ अध्यक्ष, वरिष्ठ न्यायाधीश सुशीला कार्की सदस्य र कानुनमन्त्री अग्नि खरेल सदस्य छन् । बैठकमा तीन जनाको बहुमत भए पनि पूर्ण सदस्यको सहमतिमा मात्रै न्यायाधीश नियुक्ति र सिफारिस गर्ने व्यवस्था थियो ।

न्यायाधीश नियुक्तिका विषयमा संसद र न्यायालयबीच विवाद भएपछि सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश जगदीश शर्माको इजलासले सोमबार सभामुखको कदम संविधानविपरीत भएको ठहर्‍याएको थियो । सर्वोच्चले सभामुखको पत्र कार्यान्वयन नगरी सिफारिस नामावलीमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पुनरावेदनबाट स्थायी न्यायाधीश सिफारिस हुनेमा दीपक कार्की, केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । यसै गरी अधिवक्ताबाट हरिकृष्ण कार्की, प्रकाशमान राउत, सपना मल्ल र अनिलकुमार सिन्हा सिफारिस गरिएका छन् ।

सर्वोच्च अदालतका लागि सिफारिस व्यक्ति संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने व्यवस्था संविधानमा छ । अन्तरिम संविधानअनुसार सुनुवाइ समितिमा ७३ सदस्य हुने भए पनि नयाँ संविधानमा १५ जना मात्र सदस्य हुने भनिएको छ । संसद चालू नरहेको र सुनुवाइ समितिको नयाँ नियमावलीसमेत निर्माण नभएको अवस्थामा सिफारिस नामावली अनुमोदन हुन समय लाग्ने देखिन्छ ।

सर्वोच्च अदालतमा अहिले २० हजारभन्दा धेरै मुद्दाको चाप छ । प्रत्येक दिन सयभन्दा धेरै मुद्दा पेसीमा चढ्छन् तर एक दर्जन मात्र सुनुवाइ हुन्छ ।