दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

मूलखबर संवाददाता
काठमाडौं

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा आज बागमती प्रदेशको टिम च्याम्पियन बन्न सफल भएको छ । बागमतीले १६ स्वर्ण, नौ रजत र १० कास्यसहित ‘मेडल ट्याली’ मा आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य हात पार्‍यो । सात स्वर्ण, १५ रजत र १७ कास्यसहित आर्मी तेस्रो, छ स्वर्ण १४ रजत र १६ कास्यसहित पुलिस चौथो, तीन स्वर्णसहित कोशी प्रदेश पाँचौँ र दुई स्वर्ण, चार रजत र एक कास्यसहित सुदूरपश्चिम छैटौँ स्थानमा रह्यो ।

एकै विधामा चार खेलाडीद्वारा कीर्तिमान भङ्ग

नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना भएको चौथो दिनको स्पर्धाको २०० मिटर बटरफ्लाइमा अशिम भण्डारीले हिट चरणमा राखेको दुई मिनेट २१.८७ सेकेन्ड समयको कीर्तिमानलाई चार खेलाडीले भङ्ग गरेको हुन् । उक्त कीर्तिमानलाई भङ्ग गरी दूरी पूरा गर्ने क्रममा सुदूरपश्चिमका अथर्व सिंहले दुई मिनेट १८.३० सेकेन्ड, आर्मीका सौर्यनबहादुर सिंहले दुई मिनेट १९.८१ सेकेन्ड, आर्मीकै अशिम भण्डारीले दुई मिनेट २०.११ सेकेन्ड र पुलिसका मायोन श्रेष्ठले दुई मिनेट २०.६२ सेकेन्डका समय निकाले । पुरानो कीर्तिमान सौरेनबहादुर सिंहको नाममा रहेको थियो । उनले २०२६ मा काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिपमा दुई मिनेट २६.८४ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

महिला २०० मिटर बटरफ्लाइमा एनआरएनकी लिली बोहराले दुई मिनेट ३३.२० सेकेन्ड समयको कीर्तिमान राखिन् । उनले डुवाना लामाले हिट चरणमा देवाशी जोशीले काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिप २०२६ मा राखेको दुई मिनट ४८.३० सेकेन्ड समयलाई विस्थापित गर्दै राखेको दुई मिनेट ३५.२९ सेकेन्ड समयको नयाँ कीर्तिमानलाई भङ्ग गरेकी हुन् । आर्मीकी डुवाना लामाले रजत र पुलिसकी देवांशी जोशीले कास्य जिते ।

यस्तै नयाँ किर्तिमान राख्ने क्रममा ८०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका कल्किन श्रेष्ठले कीर्तिमान कायम गरे । उनले उक्त दूरी नौ मिनेट ३.२१ सेकेन्ड समयमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । यसअघिको कीर्तिमान कल्किनकै नाममा नौ मिनट १२.६२ सेकेन्ड समयको थियो । उनले भारतको अहमदावादमा आयोजना भएको ११औँ एसियन एक्वाटिक्स च्याम्पियनसिपमा राखेका थिए । सुदूरपश्चिमका अथर्व सिंहले रजत हात पार्दा नेपाल पुलिसका रचित बुढाथोकीले कास्य हात पारे ।

कीर्तिमान राख्ने क्रममै महिला चार गुणा १०० मिटर फ्रिस्टायलमा बागमती प्रदेशले सोफिया शाह, सोनिरा विष्ट, श्रीतिका सिंह र गौरिका सिंहले गुहाटीमा आयोजना भएको १२औँ सागमा राखेको चार मिनेट ३२.१७ सेकेन्डको समयलाई भङ्ग गर्दै रोयल प्रजापति, प्राज्ना ताम्राकार, आयरा श्रेष्ठ र आर्या महर्जन (सिनियर) रहेको बागमतीले चार मिनेट २८.८६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाए । पुरानो कीर्तिमानलाई आर्मीका सिशम्बुन राई, रैजी अवाले, लुना श्रेष्ठ र डुवाना लामाको टिमले पनि चार मिनेट ३१.०६ सेकेन्ड समयका साथ भङ्ग गरे तापनि उक्त समय स्वर्ण प्राप्त गर्न सक्षम नभई रजतमा खुम्चिन पुग्यो । नेपाल पुलिसले कास्यमा चित्त बुझायो ।

महिलाको ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले चार मिनेट ४३.११ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीकी डुवाना लामाले रजत र एनआरएनकी मिखा काया थापाले कास्य जिते ।