संक्रमणकालीन न्याय अलपत्र : आयोग पदाधिकारीविहीन, द्वन्द्वपीडित सामाजिक उपेक्षाको सिकार

मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर

काठमाडौं । नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिने महत्वपूर्ण जिम्मेवारी पाएका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग लामो समयदेखि पदाधिकारीविहीन अवस्थामा छन्। आयोगमा पदाधिकारी नियुक्त हुन नसक्दा सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका हजारौँ नागरिकको न्याय प्राप्त गर्ने अपेक्षा अन्योलमा परेको छ।

तत्कालीन राज्य पक्ष र माओवादीबीच भएको सशस्त्र द्वन्द्वका क्रममा हत्या, बेपत्ता, यातना, यौन हिंसा, विस्थापन तथा अन्य मानव अधिकार उल्लङ्घनबाट प्रभावित नागरिकले अझै न्याय, सत्य र परिपूरणको प्रतीक्षा गरिरहेका छन्। तर संक्रमणकालीन न्यायको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्दा पीडित परिवारले वर्षौंदेखि मानसिक, आर्थिक र सामाजिक पीडा भोग्नुपरेको छ।

गत बैसाखमा सरकारले अध्यादेश जारी गर्दै दुवै आयोगका तत्कालीन पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति हुन सकेको छैन। दुवै आयोग सात महिनादेखि पदाधिकारीविहीन छन्।

न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडित परिवारको समस्या केवल कानुनी प्रक्रियामा सीमित छैन। आफन्त गुमाएका, बेपत्ता पारिएका परिवारका सदस्य र द्वन्द्वबाट शारीरिक तथा मानसिक रूपमा प्रभावित व्यक्तिहरूले समाजमा समेत विभेद, अपहेलना र उपेक्षा सहनुपरेको अवस्था छ। कतिपय परिवार आर्थिक अभाव, सामाजिक असुरक्षा र मनोसामाजिक समस्याबाट समेत प्रभावित छन्।

संक्रमणकालीन न्यायको मूल उद्देश्य पीडितलाई न्याय दिलाउनु, सत्यतथ्य सार्वजनिक गर्नु, पीडितलाई परिपूरण उपलब्ध गराउनु र समाजमा दिगो मेलमिलापको वातावरण निर्माण गर्नु हो।

द्वन्द्वपीडितहरूले अब आश्वासन होइन, न्यायिक प्रक्रियाको सुनिश्चितता खोजिरहेका छन्। सरकारले राजनीतिक स्वार्थ र नियुक्तिसम्बन्धी विवादभन्दा माथि उठेर दुवै आयोगमा निष्पक्ष, सक्षम र विश्वसनीय पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने उनीहरूको अपेक्षा छ।

शान्ति सम्झौताको दुई दशक पुग्न लाग्दा पनि पीडितले न्याय नपाउनु राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न हो। न्यायबिनाको शान्ति र पीडितको सम्मानबिनाको मेलमिलापले दिगो लोकतन्त्र निर्माण गर्न सक्दैन।