रुस भ्रमण ऐतिहासिक र विशेष रहयो : पुर्व प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

‘राष्ट्रहरुको स्वतन्त्रताका लागि’ रुसको राजधानी मस्कोमा त्यहाँको सत्तारुढ दल युनाइटेड रसियाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सफलतापुर्वक भाग लिएर पुर्व प्रधानमन्त्री एवम् नेकपा संयोजक क.पुष्पकमल दाहाल’प्रचण्ड’ विहिवार विहान स्वदेश फिर्ता हुनुभएको छ।

साताब्यापि रुस भ्रमण पुरा गरी विहिवार विहान स्वदेश फर्कनु भएका पुर्व प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा भ्रमण सफल र ऐतिहासिक रहेको बताउनुभयो।

विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधिको सहभागिता रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा संयोजक प्रचण्डले दुईपटक सम्वोधन गर्नुभएको थियो। सम्वोधनका क्रममा प्रचण्डले हरेक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताउनुभएको थियो।

प्रचण्डले आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने बताउनुभएको थियो। संसार बहुध्रुवीय विश्व व्यवस्थातर्फ गएको औल्याउँदै संयोजक प्रचण्डले भन्नुभयो- ‘ बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ। सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्छ।’