फर्किए भारतिय विदेश सचिव मिश्री

मूलखबर संवाददाता
काठमाडौं

भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएका मिश्रीले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक भेटवार्ता गरे । भ्रमणको दोस्रो दिन बिहीबार भारतीय विदेश सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल-भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध आयाममा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा भएको विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणको सम्भावित कार्यसूची, प्राथमिकता र तयारीका विषयमा समेत केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाह आगामी मंसिर दोस्रो साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ । यद्यपि, भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । भ्रमण निश्चित भएमा प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ । भारतीय विदेश सचिव मिश्रीले नेपाल भ्रमणको पहिलो दिन परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए ।

बुधबार नेपाल र भारतका परराष्ट्र सचिवबीच भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा पनि प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदान, सम्पर्क सञ्जाल, व्यापार, विकास सहकार्य, ऊर्जा तथा जनस्तरको सम्बन्धलाई प्राथमिकता दिइएको थियो । भारतीय दूतावासले समेत आगामी उच्चस्तरीय भेटघाटको अवसर उपयोग गर्दै नेपालसँगको बहुआयामिक साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ । मिश्रीले नेपाल–भारत सम्बन्धलाई विशेष प्रकृतिको साझेदारीका रूपमा व्याख्या गर्दै आगामी दिनमा यसलाई थप अघि बढाउनुपर्ने विभिन्न पहलका विषयमा छलफल भइरहेको बताएका थिए  ।

विदेश सचिव मिश्रीको भ्रमणले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि राजनीतिक तथा कूटनीतिक वातावरण तयार गर्न, सम्भावित छलफलका विषय पहिचान गर्न र दुवै पक्षका अपेक्षाबारे प्रारम्भिक समझदारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।