रास्वपा विवाद : पार्टी सभापतिले नै गर्न थाले सरकारको आलोचना

मूलखबर संवाददाता
काठमाडौं, २१ कात्तिक

सत्तारूढ रास्वपाभित्रकाे विवाद सतहमा देखिन शुरू भएकाे छ । सरकारकाे नेतृत्व गरेका प्रधानमन्त्री बालेन शाहले गरेका निर्णय र गतिविधिप्ररति पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्न थालेका छन् । पत्रकार पक्राउ र सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश तथा प्रहरी महानिरीक्षक हेरफेरका विषयमा उनले आलोचनात्मक अभिव्यक्ति दिएका छन् ।

सरकारका पछिल्ला गतिविधिलाई लक्ष्य गर्दै सभापति लामिछानेले रास्वपाले विधिको शासनमा विश्वास गर्ने बताएका छन् । चितवनमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सत्ता सञ्चालनमा अपरिपक्वता संकेत दिन नहुने धारणा राखेका छन् । ‘हामी त अपरिपक्व भएछौं कि भन्ने सन्देश जाला, हामीबाट सत्ता सञ्चालन हुन्न कि क्या हो भन्ने संशय पैदा होला, यस्तो कुरामा हामी सचेत हुनुपर्छ,’ उनले भने, ‘हाम्रा व्यवहार, क्रियाकलाप, गतिविधि कानुनी राज्यको स्थापनाका निम्ति हुन्, त्यो परिणाम मात्र होइन । लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो । त्यो प्रक्रियालाई पनि ध्यान दिनुपर्छ किनकि हामीलाई अन्य दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समाजले हेरिरहेका छन् ।’

सभापति लामिछानेले सरकारका विषयमा पार्टी र आफूले घचघच्याउने बताए । सरकारका सम्बन्धमा आफू र पार्टीले अभिव्यक्ति दिँदा वा निर्णय लिँदा नेतृत्वमा विवाद रहेको भन्ने व्याख्या गर्न नहुने पनि उनको भनाइ छ । ‘यस्तो कुरामा पार्टीले सरकारलाई कहिलेकाहीँ यसो घचघच्याउँदा लौ बर्बाद भयो, यिनीहरू ठोक्न थाले, उसलाई यसो भन्न थाले, ल हेर त्यसलाई नि दिएको भनेर दुइटा फोटो टाँसेर केही गर्न जरुरी छैन,’ उनले भने, ‘रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ, डराएर होइन कराएर भनिरहन्छ ।

केही समययता रास्वपा सभापति लामिछानेले दिएका अभिव्यक्ति र सरकारबाट भएका क्रियाकलापले पार्टी र सरकारको नेतृत्वमा असमझदारी रहेको संकेत गरेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । ‘नवोदित सत्ताधारी दल र सरकारबीच असमझदारी बढ्दै गएको सार्वजनिक रूपमा देखिन थाल्नु देश र लोकतन्त्रका निम्ति शुभसंकेत होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन–जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्‍याऊन्, बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरून् ।’ २००७ सालपछि विभिन्न पार्टीमा भएका अन्तर्संघर्षले देश, लोकतन्त्र र जनतालाई नोक्सान भएको उल्लेख गर्दै उनले अहिले रास्वपाले यस्तो गल्ती दोहोर्‍याए, त्यो इतिहास दोहोरिने चेतावनी दिएका छन् ।