आरुघाटको शान्तिबजारका विस्थापित परिवारलाई राख्न २७ वटा टेन्ट निर्माण
बुढीगण्डकी बाढीपछि विस्थापित आरुघाटको शान्तिबजारका विस्थापित परिवारलाई राख्न २७ वटा टेन्ट निर्माण गरिएको छ । आइतबारको बाढीपछि शान्तिबजारका ३० भन्दा बढी घरधुरी विस्थापित बनेका छन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट आएको टेन्ट शान्तिबजारमा राखिएको जिल्ला रेडक्रसका सभापति भिमसेनकाजी बानियाँले बताए ।
शान्तिबजार नजिकैको भुमेथान मन्दिर नजिक टेन्ट राखिएको छ । ‘टेन्टमा एउटा परिवार सजिलो गरी बस्न सक्नुहुन्छ,’ उनले भने, ‘पहिले शान्तिबजारका ३५ परिवार विस्थापित भन्ने थियो, हामी टेन्ट टाँग्न आउँदा २७ परिवारको आयो, सोही अनुसार टेन्ट निर्माण गर्यौं ।’
रेडक्रसका स्वंयसेवकहरुले टेन्ट टाँग्न खटिएका थिए । तीन दिनको अवधिमा टेन्ट राखेसँगै विस्थापित परिवार बुधबारबाट सरिसकेको उनले बताए । आरुघाट बजार नजिकैको क्रसर क्षेत्रमा मजदुरहरूका लागि पनि एउटा टेन्ट तयार गरिएको बानियाँको भनाइ छ । शान्तिबजारको बस्ती भएर बुढीगण्डकी बगेपछि स्थानीयहरू छिमेकीको शरणमा थिए ।





