१० देशका लागि प्रस्तावित राजदूतहरूकाे नाम अनुमोदन, गिरीबहादुर सुनारको नाम अस्वीकृत

मूलखबर संवाददाता
काठमाडौं

संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका राजदूतहरूको नियुक्तिका लागि अनुमोदन गरेको छ । समितिको बुधबारको बैठकले १० देशका लागि प्रस्तावित राजदूतहरूलाई नियुक्तिका लागि अनुमोदन गरेको हो ।

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकार गरेको छ । सुनारको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा रास्वपा सांसद गजला समीम मिकरानीले राजदूत पदको रूपमा उपयुक्त नलागेको बताइन् । उनले भनिन्, ‘राजदूत पदका लागि उपयुक्त लागेको छैन ।’

रास्वपा संसदीय दलका मुख्य सचेतकसमेत रहेका कबिन्द्र बुर्लाकोटीले पनि सुनारलाई राजदूत बनाउन नमिल्ने बताए । ‘देशको राजदूत भएर जाने प्रतिष्ठित पद हो । समितिले उजुरी माग गरेपछि केही जानकारी प्राप्त भयो । त्यो अध्ययन गर्दा र सुनुवाइका क्रममा प्रश्न गर्दा पनि आफ्नो परिवार र अन्य कुरा पनि छर्लंग गर्नुभयो,’ बुर्लाकोटीले भने, ‘राजदूत पद त्यसैले उच्च नैतिकतासँग जोडिएर आउने हुन्छ ।’

त्यसपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए ।

मन्त्रीपरिषद्को असोज २ को बैठकले विभिन्न १३ देशका लागि राजदूत प्रस्ताव गरेको थियो । मन्त्रीपरिषद्को कार्यालयले १३ वटा देशका लागि प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाएको थियो । सुनुवाइ समितिले सोमबारदेखि बुधबारसम्म निरन्तर सुनुवाइ गरेको थियो ।