दशैंकाे पुर्वसन्ध्यामा अखिल क्रान्तिकारीले राख्याे १२ बुँदे माग
अखिल (क्रान्तिकारी) ले दशैंकाे पुर्व सन्ध्यामा चाडपर्वलक्षित एक दर्जन माग अगाडि सारेकाे छ । १२ वटा मागसहित आज संगठनले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा ज्ञापनपत्र बुझाएको हो ।
संगठनले महँगी, कालोबजारी, कृत्रिम अभाव नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न, अत्यावश्यक वस्तुको सहज आपूर्ति र उचित मूल्य सुनिश्चित गर्न, सबै व्यापारिक प्रतिष्ठानमा मूल्यसूची राख्ने, बिल उपलब्ध गराउने व्यवस्था मिलाउन, म्याद गुज्रिएको, मिसावटयुक्त तथा गुणस्तरहीन खाद्यान्न बेच्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
त्यसैगरी, सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, टिकटमा कालोबजारी तथा यात्रुमाथि हुने ठगी नियन्त्रण गर्न ध्यानाकर्षण गराइएको छ । लागुऔषध, अवैध जुवातास तथा शान्ति सुरक्षामा असर पार्ने गैरकानुनी गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चाल्न, उपभोक्ताको गुनासो तथा उजुरी तत्काल सुनुवाई गर्ने व्यवस्था मिलाउन, महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण, ठगी नियन्त्रण गर्न प्रभावकारी काम गर्न भनिएको छ ।





