कांग्रेसकाे पदाधिकारीमा नयाँकै पकड, सभापतिमा थापा, महामन्त्रीमा पाैडेल, अरूमा काे ?
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले ३ सय ७५ मत पाए । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यस अघि नै निर्विराेध निर्वाचित भइसकेका छन् ।
उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीको दुई खुला पदमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा एक महिला पदमा डिला संग्रौला निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा संग्रौला पहिलो महिला महामन्त्रीसमेत बनेकी छन् ।
उपसभापतिमा निर्वाचित भण्डारीले ३ हजार ७ सय ३५, आचार्यले २ हजार ३ सय ४२ र चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरे । आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई थिए । आचार्यले भट्टराईभन्दा ५ सय ९० बढी पाए । भट्टराईले १ हजार ७ सय ५२ मत पाएका थिए । खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डेसमेत प्रतिस्पर्धामा थिए । उनी चौथो स्थानमा आए । उनले १ हजार ६ सय ७३ मत ल्याए । तत्कालीन उपसभापतिसमेत रहेका नेता धनराज गुरुङ भने पाँचौं स्थानमा पुगे ।
नेता शेखर कोइराला पक्षमा रहेका गुरुङ अन्तिम समयमा महाधिवेशनमा आएका थिए । उनले १ हजार ५ सय ९६ मत पाएका थिए । अर्का नेता दीपक गिरीले ९ सय २३ र चन्द्रमोहन यादवले ७ सय ६० मत पाए ।
समावेशीतर्फ उपसभापति पदमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गरे । परियारले १ हजार ६ सय ५८ मत ल्याएका थिए । विशेष महाधिवेशनपछि पनि सहमहामन्त्री रहेका फरमुल्ला मन्सुर तेस्रो स्थानमा पुगेका छन् । उनले १ हजार १ सय ४४ मत पाए । अर्की नेता सीता गुरुङ १ हजार १ सय १२ मत ल्याएर चौथो स्थानमा रहिन् । नेविसंघका पूर्वअध्यक्ष रहेका रञ्जित कर्णले ५ सय ६२ मत ल्याए ।





